Home Login
प्रवास

गायक सुजन चापागाईं ब्याण्ड सहित सांगीतिक कार्यक्रमका लागि युरोप आउँदै

पोर्चुगल — नेपाली सांगीतिक आकाशमा पछिल्लो समय सर्वाधिक रुचाइएका तथा युवा पुस्ताको ढुकढुकी बन्न सफल गायक सुजन चापागाईं आफ्नो सांगीतिक ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित युरोपको भ्रमणमा निस्कने भएका छन् ।

प्रवासमा रहेर पनि नेपाली संगीतलाई माया गर्ने दर्शकहरूका लागि सन् २०२६ मा ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ नाम दिइएको एक बृहत् सांगीतिक टुरको आयोजना गरिने भएको हो । नेपाली कला र संगीतको माध्यमबाट प्रवासमा रहेका नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्ने र अपनत्वको महसुस गराउने उद्देश्यले यो विशेष कार्यक्रम तय गरिएको हो ।

नेपाली सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यसहित गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र मामा इभेन्ट्सले संयुक्त रूपमा यो भव्य कार्यक्रमको आयोजना गरेका हुन् । यसका साथै, केन्द्र मोशन पिक्चर्सले यस सांगीतिक यात्रालाई मुख्य सहयोगीको भूमिकामा साथ दिएको छ ।

गायक चापागाईंले यो सांगीतिक यात्राका क्रममा युरोपका प्रमुख सहरहरूमा आफ्ना प्रस्तुतिहरू दिनेछन् । गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङका अनुसार, फिनल्याण्डको हेलसिंकीमा फेब्रुअरी १४, बेल्जियमको एन्टवर्पमा फेब्रुअरी १६, फ्रान्सको पेरिसमा फेब्रुअरी १८, जर्मनीको बर्लिनमा फेब्रुअरी २०, डेनमार्कको कोपेनहेनमा फेब्रुअरी २७, पोर्चुगलको लिस्बनमा मार्च २ र माल्टामा मार्च ६ तारिख आफ्नो चर्चित गीतहरू सहित प्रस्तुत हुनेछन् ।

गुरुङका अनुसार, यो कार्यक्रमले युरोपवासी नेपालीहरूलाई आफ्नो कला, संस्कृति र माटोको सुगन्धसँग पुन: जोड्ने विश्वास गर्नुको साथै; सुजन चापागाईंको यो टुर युरोपमा रहेका नेपालीहरूका लागि एक ऐतिहासिक सांगीतिक उत्सव बन्ने निश्चित रहेको बताउनुभयो ।

“नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ” भन्ने मूल मन्त्रका साथ लामो समयदेखि युरोपमा सक्रिय यी संस्थाहरूले नेपाली चलचित्र प्रदर्शन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत नेपालीपनलाई जीवित राख्दै आएका छन् ।

वर्तमान नेपाली संगीतमा सुजन चापागाईं एक सशक्त र जादुमय स्वर भएका सर्जकका रूपमा चिनिन्छन् । उनका सिर्जनाहरूमा पाइने मौलिकपन र फरक स्वादले गर्दा उनी बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनमा बस्न सफल भएका छन् । युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालमा करोडौं दर्शकको माया पाएका उनका गीतहरूले स्रोतालाई मन्त्रमुग्ध पार्ने क्षमता राख्छन् । यस युरोप टुरमा सहभागी दर्शकहरूले ‘तीनपाते’, प्रेमिल जोडीहरूको रोजाइमा परेको ‘लजाएर’, रमाइलो भाका ‘गाला पुक्क’, भावनाले भरिएको ‘बाफ’ तथा पछिल्लो समय निकै चर्चामा रहेको ‘घुम्ती’ (फूल बारीमासी) लगायतका दर्जनौं लोकप्रिय गीतहरू प्रत्यक्ष सुन्ने दुर्लभ अवसर पाउनेछन् । गायकको दमदार आवाज र ब्याण्डको लाइभ प्रस्तुतिले कार्यक्रमलाई थप ऊर्जावान् र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply