Home Login
संघ-संस्था

साइप्रसमा गायक राजु लामाको साथमा ‘सोनाम ल्होसार’ मनाउने

पाफोस (साइप्रस) — रोजगारी तथा अध्ययनको सिलसिलामा साइप्रसका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै आफ्नो मौलिक संस्कृति र परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने पवित्र उद्देश्यका साथ यस वर्ष पर्यटकीय सहर पाफोसमा ऐतिहासिक सोनाम ल्होसार कार्यक्रम आयोजना हुने भएको छ ।

तामाङ समुदायलगायत विभिन्न हिमाली तथा पहाडी समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होसारको पावन अवसर पारेर पाफोसमा यो कार्यक्रम पहिलो पटक भव्य रूपमा मनाइन लागिएको हो ।

प्रवासको व्यस्त जीवनशैलीका बीच पनि आफ्नोपन र संस्कृतिको जगेर्ना गर्ने हेतुले आयोजना गर्न लागिएको यो बृहत् सांस्कृतिक कार्यक्रम आगामी सन् २०२६ जनवरी १८ तारिख आइतबारका दिन पाफोस सहरस्थित ‘मोन्टे लिजा समारोह हल’ मा सम्पन्न हुने तय भएको छ ।

सोनाम ल्होसार पर्वको सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्वलाई उजागर गर्दै नयाँ पुस्तालाई आफ्नो रितिस्थिति चिनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजक ‘लामा अपार्ट’ले जानकारी दिएको छ । त्यसो त आयोजक ‘लामो अपार्ट’ को तेस्रो प्रस्तुति समेत रहेको हो ।

कार्यक्रममा तामाङ समुदायको मौलिक सेलो, डम्फु धुन, स्याब्रु नृत्य लगायत विविध लोकभाका, परम्परागत भेषभुषा तथा सामूहिक सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन् ।

यस ऐतिहासिक कार्यक्रमको रौनक बढाउन र दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्न नेपालका चर्चित गायक तथा मङ्गोलियन हार्ट ब्यान्डका प्रमुख गायक राजु लामा साइप्रस आउने हुनुभएको छ । राजु लामाको विशेष तथा प्रत्यक्ष सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षणको केन्द्रविन्दु रहने आयोजकले जनाएको छ । उहाँका कालजयी र लोकप्रिय गीतहरूमा साइप्रसवासी नेपाली दर्शक तथा शुभेच्छुकहरू झुम्ने अपेक्षा गरिएको छ ।

यसका साथै कार्यक्रमलाई थप मनोरञ्जनात्मक र उल्लासमय बनाउन स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहनेछ । जसमा नृत्यांगना मुना तामाङ, गायिका मोनिका विश्वकर्मा, जियासना तामाङ, रसुवाली समूहको विशेष स्याब्रु नृत्य र मिङमार शेर्पाको प्रस्तुतिले माहोल तताउने निश्चित छ ।

कार्यक्रमको औचित्यबारे प्रस्ट पार्दै आयोजक समितिका एक सदस्यले प्रवासमा आफ्नो संस्कृति र रीतिरिवाजको जगेर्ना गर्नु हरेक नेपालीको कर्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही भावनालाई आत्मसात् गर्दै हामीले पाफोसमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकै ठाउँमा भेला गराई ल्होसारको शुभकामना आदानप्रदान गर्ने र रमाइलो गर्ने उद्देश्यले यो कार्यक्रम राखेका हौँ ।” पाफोस र यसका आसपासका क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई आपसी सद्भाव बढाइदिन आयोजकले हार्दिक अपिल समेत गरेको छ ।

पाफोसमा पहिलो पटक आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय नेपाली समुदायमाझ नयाँ उत्साह र उमंग थपेको छ । कार्यक्रमले साइप्रसमा बसोबास गर्ने नेपाली तथा सम्पूर्ण नेपाली समुदायबिच आपसी भाइचारा, एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । कार्यक्रममा सहभागिता जनाउन सहज होस् भन्ने उद्देश्यले आयोजकले साइप्रसका विभिन्न सहरहरूबाट यातायात अर्थात् बसको समेत व्यवस्था गरेको छ । उक्त भव्य सांगीतिक तथा सांस्कृतिक साँझमा सहभागी हुनका लागि प्रति व्यक्ति २५ युरो प्रवेश शुल्क निर्धारण गरिएको छ ।

स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा खानपानसहितको यो जमघट प्रवासमा रहेका नेपालीहरूका लागि एक अविस्मरणीय उत्सव बन्ने अपेक्षा गरिएको छ ।

Leave a Reply