Home Login
साईप्रस

साइप्रसमा भीषण आगलागी: लिमासोलमा आगो नियन्त्रण बाहिर, दुई जनाको मृत्यु

लिमासोल, साइप्रस — युरोपेली मुलुक साइप्रसको लिमासोल जिल्लामा बुधबार, २३ जुलाई २०२५ को दिउँसोदेखि सुरु भएको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ । तीव्र हावाहुरी र प्रचण्ड गर्मीका कारण आगोले भयानक रूप लिँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

साइप्रसको अग्निनियन्त्रण विभागका प्रमुख निकोस लङ्गिनोसका अनुसार, जलेको गाडीभित्र दुई जनाको शव फेला परेको हो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। स्वास्थ्य मन्त्री मिखालिस डामियानोसले अस्पताल पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिनुभएको छ ।

लिमासोलको पहाडी क्षेत्रबाट सुरु भएको आगो तीव्र गतिमा फैलिएर दर्जनौं घरहरु खरानी बनाएको छ भने हजारौं हेक्टर खेतीयोग्य जमिन नष्ट पारेको छ । आगलागीका कारण कयौं गाउँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । प्रत्यक्षदर्शीहरूले आफ्नो जीवनभरको कमाइ र घरसम्पत्ति आगोको चपेटामा परेको असहाय भएर हेरिरहेको बताएका छन् ।

सयौंको संख्यामा अग्निनियन्त्रक, स्वयंसेवक, नागरिक सुरक्षाकर्मी, राष्ट्रिय गार्डका सदस्य र प्रहरीको विशेष टोली चौबिसै घण्टा आगो निभाउने प्रयासमा जुटेका छन् । हवाई फायर फाइटिङ एकाइहरूले पनि आगो निभाउने प्रयास गरिरहेका छन्, तर प्रतिकूल मौसमका कारण प्रयासहरूमा बाधा पुगेको छ । अधिकारीहरूले आगो नियन्त्रणमा आउन अझै समय लाग्ने बताएका छन् ।

लिमासोल शहर र जिल्लाभरि बाक्लो धुवाँको मुस्लोले ढाकेको छ, जसले गर्दा स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।

अधिकारीहरूले यो आगलागी नियोजित रूपमा गराइएको हुन सक्ने आशंका गरेका छन् ।प्रत्यक्षदर्शीहरूले दुई फरक ठाउँमा जानाजानी आगो लगाइएको जानकारी दिएको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

अत्यधिक गर्मी, खडेरी र तीव्र हावाका कारण साइप्रसमा हरेक वर्ष आगलागीका घटनाहरू हुने गरे पनि यस वर्षको आगलागी पछिल्ला केही वर्षयताकै सबैभन्दा भयानक भएको बताइएको छ । साइप्रस सरकारले आगलागी नियन्त्रणका लागि युरोपेली संघलाई सहयोगको लागि अपिल गरेको छ, जसपश्चात् स्पेन र जोर्डनले हवाईजहाज पठाएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply