लन्डन – लोकप्रिय गायिका रचना रिमाल र गायक रामजी खांड सांगीतिक कार्यक्रमको लागि लन्डन आइपुगेका छन् । ‘सयपत्री नेपाली कल्चरल ग्रुप यूके’को आयोजनामा आइतबार साँझ अल्डरसट एम्पायर हलमा हुने सयपत्री साँझमा प्रस्तुति गर्न उनीहरु विहीबार बेलुका लन्डन आइपुगेका हुन् ।
कलाकारहरु लन्डन हिथ्रो विमानस्थलमा उत्रिंदा सयपत्री ग्रुपका अध्यक्ष दिपक शाहीसहित कार्यसमितिका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
कलाकारलाई स्वागत गर्न महासचिव गौरव क्षेत्री, संस्थापक अध्यक्ष एलबी गुरुङ, ट्रष्टी कविता गुरुङ, बोर्ड मेम्बर हिरा थापा, आजीवन सदस्य दिपक थापा माइथानेमगर लगायत विमानस्थल पुगेका थिए । बेलायत उत्रिएलगत्तै कलाकारहरुले सयपत्री साँझमा सहभागिताको लागि बेलायतवासी नेपाली दर्शकलाई आमन्त्रण गरेका छन् ।
बेलायतमा प्रस्तुति गर्न उत्साहित रहेको जनाउँदै उनीहरुले दर्शकलाई भरपूर मनोरञ्जन दिलाउने विविध प्रस्तुतिहरु गरिने बताएका छन् । सयपत्री साँझ आइतबार बेलुका ६ बजेखि ११ बजेसम्मलाई तय छ । कार्यक्रमको टिकट शुल्क २५ पाउन्ड छ जसमा डिनर समेत उपलब्ध गराइनेछ ।
बेलायतमा रहंदा गायिका रिमाल र गायक खाँडले सयपत्री सांझबाहेक अरु केही कार्यक्रममा समेत प्रस्तुति गर्ने तयारी छ ।