Home Login
बेलायत

बेलायत र भारतबीच बृहत् आर्थिक तथा व्यापार सम्झौता

लन्डन — तीन वर्षदेखि चलिरहेको वार्तापछि भारत र बेलायतले बिहीबार बृहत् आर्थिक तथा व्यापार सम्झौता (सीईटीए) मा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायतको चौथो भ्रमणको क्रममा भएको हो ।

प्रधानमन्त्री मोदीले सम्झौतापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “यो सम्झौता केवल आर्थिक साझेदारी होइन, साझा समृद्धिको योजना पनि हो ।” उनका अनुसार यस सम्झौताले भारतीय कपडा, जुत्ता, रत्न–आभूषण, समुद्री खाद्य र इन्जिनियरिङ उत्पादनहरूलाई बेलायती बजारमा सहज पहुँच दिलाउनेछ । साथै, कृषि उत्पादन र प्रशोधित खाद्य सामग्रीको पनि बेलायतमा माग बढ्ने अपेक्षा गरिएको छ ।

यसका अतिरिक्त, बेलायतमा निर्मित चिकित्सा उपकरण र एयरोस्पेस पार्ट्स भारतमा किफायती मूल्यमा उपलब्ध हुनेछन् ।

सम्झौताप्रति बेलायतका केही विपक्षी नेताहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार भारतीय कामदारहरूलाई सामाजिक सुरक्षा (नेशनल इन्सुरेन्स) योगदानमा छुट दिँदा बेलायती कामदारहरू प्रभावित हुन सक्छन् ।

बसन् २०२० मा ब्रेक्जिटपछि बेलायतले कुनै पनि देशसँग गरेको यो अहिलेसम्मको सबैभन्दा ठूलो व्यापार सम्झौता हो । बेलायतका व्यापार मन्त्री जोनाथन रेनोल्ड्स र भारतका वाणिज्य मन्त्री पियुष गोयलबीच सम्पन्न सम्झौताले बेलायती अर्थतन्त्रमा वार्षिक ४.८ अर्ब पाउन्ड (करिब ६.५ अर्ब अमेरिकी डलर) योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Leave a Reply