पोर्चुगल — पोर्चुगलमा बसोबास गर्दै आएका र जसको आवासीय अनुमतिपत्र (Residence Permit) को म्याद अगस्ट २०२५ मा सकिँदैछ, उनीहरुका लागि खुसीको खबर छ । पोर्चुगलको आप्रवासन तथा शरणसम्बन्धी एजेन्सी (AIMA) ले त्यस्ता अनुमतिपत्र नविकरणका लागि अनलाइन पोर्टल खुला गरेको छ ।
यो व्यवस्थासँगै अब अगस्ट २०२५ मा म्याद सकिने आवासीय अनुमतिपत्र भएका व्यक्तिहरूले अनलाइन प्रणालीमार्फत नै आफ्नो अनुमतिपत्र नविकरणका लागि आवेदन दिन सक्नेछन् । सम्बन्धित व्यक्तिहरूलाई AIMA ले आफ्नो आधिकारिक नविकरण पोर्टल portal-renovacoes.aima.gov.pt मार्फत प्रक्रिया अगाडि बढाउन सूचित गरेको छ ।
नविकरण प्रक्रिया कसरी गर्ने ?
जसको आवासीय अनुमतिपत्रको म्याद अगस्ट २०२५ मा समाप्त हुँदैछ, उनीहरुले निम्न चरणहरू पूरा गरी नविकरणका लागि आवेदन दिन सक्नेछन् :
१. AIMA को आधिकारिक नविकरण पोर्टलमा जानुहोस्: portal-renovacoes.aima.gov.pt २. पोर्टलमा आफ्नो आवश्यक विवरणहरू भरेर दर्ता गर्नुहोस्। ३. दर्ता प्रक्रिया पूरा भएपछि, तपाईंले उपलब्ध गराएको इमेल ठेगानामा लग-इनका लागि पासवर्ड प्राप्त गर्नुहुनेछ। ४. उक्त पासवर्ड प्रयोग गरी प्रणालीमा लग-इन गरी नविकरण आवेदन भर्नुहोस्। ५. आवेदन शुल्क भुक्तानीका लागि आवश्यक कागजात (DUC) तयार गरी तोकिएको समयभित्र शुल्क भुक्तानी गर्नुहोस्। ६. भुक्तानी सफल भएपछि, तपाईंको आवेदन स्वीकृतिको प्रक्रियामा जानेछ र तपाईंले सोको रसिद प्राप्त गर्नुहुनेछ ।
AIMA ले यो अनलाइन प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै लगेको छ । यसअघि जुलाई २०२५ मा म्याद सकिने अनुमतिपत्रका लागि पोर्टल खुलाइएको थियो भने हाल अगस्ट महिनाका लागि उपलब्ध गराइएको हो ।
सम्बन्धित सबैलाई आफ्नो आवासीय अनुमतिपत्रको म्याद ख्याल गरी समयमै नविकरण प्रक्रिया सुरु गर्न अनुरोध गरिन्छ । अनलाइन प्रणालीले प्रक्रियालाई सहज र छिटो बनाउने अपेक्षा गरिएको छ । थप जानकारी तथा सहयोगका लागि AIMA को आधिकारिक वेबसाइट हेर्न सकिनेछ ।