Home Login
गैरआवासीय नेपाली संघ

सन्तोष श्रेष्ठ एनआरएनए स्पेनको अध्यक्षमा निर्विरोध निर्वाचित

स्पेन — गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको ९औं महाधिवेशन आज सम्पन्न भएको छ । २०२५–२०२७ कार्यकालका लागि सन्तोष श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा श्रेष्ठलाई समन्वय समितीको साझा प्रस्तावमा सर्वसम्मत रूपमा निर्विरोध अध्यक्ष घोषणा गरिएको हो ।

एमाले निकट प्रवासी नेपाली मंचका अध्यक्ष केदार ढुंगानाले अध्यक्ष पदका लागि दाबा गरे पनि अन्ततः उम्मेदवारी दर्ता नगरेपछि प्रतिस्पर्धा भएन । राष्ट्रिय स्वतन्त्र पार्टीका लालबहादुर क्षेत्रीको नाम पनि चर्चामा रहे पनि उम्मेदवारी दर्ता हुन सकेन । माओवादी केन्द्र निकट जनप्रगतिशील मंचले भने सहमतिमा बाधक नबन्ने निर्णय लिएको थियो ।

यसअघि नेपाली कांग्रेस निकट जनसम्पर्क समिति स्पेनका अध्यक्षको रूपमा सक्रिय रहँदै आएका श्रेष्ठले समुदायको विश्वास जित्दै एनआरएनए स्पेनको नेतृत्व सम्हाल्न सफल भएका हुन् । निर्वाचित भएपछिको आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै श्रेष्ठले भनेका छन्, “यो जिम्मेवारी म नेपाली समुदायको हित र सेवाका लागि समर्पित भावनासाथ लिन्छु । एनआरएनए स्पेनलाई एकताबद्ध, समावेशी र नेपाली प्रवासीको सशक्त प्रतिनिधि संस्थाका रूपमा अघि बढाउने मेरो दृढ प्रतिबद्धता छ ।”

स्याङ्जा जिल्लाको आधिखोला गाउँपालिकामा जन्मिएका श्रेष्ठ विगतदेखि नै नेपाली समुदायको सामाजिक, संस्थागत र साङ्गठनिक विकासमा सक्रिय रहँदै आएका छन् । उनको नेतृत्वमा एनआरएनए स्पेनले अझ पारदर्शी, सेवा–मुखी र प्रभावकारी कार्यशैली अपनाउने अपेक्षा गरिएको छ ।

नयाँ कार्यसमितिहरुमा अध्यक्षमा सन्तोष श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र भुजेल थापा, उपाध्यक्ष (खुला) मा जमुना देवी सापकोटा र दिपक बस्नेत, उपाध्यक्ष (महिला) मा मालती पन्त, उपाध्यक्ष (क्षेत्रीय) मा देव राज सापकोटा, महासचिवमा नविन घिमिरे, उप–महासचिवमा सुबास बहादुर बिष्ट, सचिव (खुला) मा गणेश राज अधिकारी, प्रविन लोहार, सचिव (क्षेत्रीय) मा दिलकुमारी तामाङ (मड्रिड), नवराज दुवाडी (कोस्टा ब्लांका) रहेका छन् ।

त्यस्तै, कोषाध्यक्षमा नारायण प्रसाद सुबेदी, सह–कोषाध्यक्षमा सुमन खड्का, महिला संयोजकमा लक्ष्मी घिमिरे (शर्मा), युवा संयोजकमा दिपिका श्रेष्ठ, युवा उप–संयोजकमा प्रलाद कार्की रहेका हुन् ।

सदस्यहरूमा मोहनराज गौतम, चन्द्रकान्त पोखरेल, भीमसेन कार्की, बिष्णु बहादुर सार्की र सम्भर बहादुर गिरि रहेका छन् । त्यस्तै प्रस्तावित अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य (आईसीसी सदस्य) मा रोशन पाठक रहेका हुन् ।

स्पेनस्थित नेपाली समुदाय र विभिन्न संघ–संस्थाहरूले श्रेष्ठलाई बधाई दिँदै आगामी कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply