Home Login
प्रवास

समीर घिसिङ (भिटेन) क्यानाडा आउँदै

क्यानाडा — युवा पुस्तामाझ चर्चित नेपाली र्यापर भिटेन (समीर घिसिङ) चार सदस्यीय टोलीको नेतृत्व गरेर कन्सर्टका लागि क्यानाडा आउने भएका छन् ।

कन्सर्टका लागि थुप्रै देश पुगिसकेका भिटेनको क्यानाडा टुर भने पहिलो हुनेछ । उनले यहाँका दुई शहरमा प्रस्तुति दिनेछन् । 

आगामी सेप्टेम्बर ६ शनिवार अन्टारियोको मिसिसागा र सेप्टेम्बर १२ शुक्रवार ब्रिटिश कोलम्बियाको भ्यान्कुभरमा भिटेनको कन्सर्ट तय भएको छ ।

क्यानाडाका अरु शहरमा पनि प्रस्तुति गर्ने प्रारम्भिक कुरा भए पनि मिति र स्थान टुंगो लागिसकेको छैन । भिटेनको टोली सेप्टेम्बर ४ मा टोरन्टो आइपुग्ने कार्यक्रम छ । 

आयोजक टिलिभ्स इन्कका अनुसार, मन श्रेष्ठ, उर्गेन मोक्तान र न्योर शेरचन सम्मिलित टोलीको नेतृत्व गरेर भिटेन क्यानाडा आउने पक्का भएको हो । भिटेनको पहिलो क्यानाडा टुर प्रभावकारी पार्न ढाकाटोपी इन्टरटेन्मेन्टले प्रस्तुतकर्ताको भूमिका निर्वाह गर्नेछ ।

‘भिसा प्रक्रिया पूरा भइसकेको छ’, आयोजक कम्पनी प्रमुख सुजन गुरुङ भन्छन्, ‘दुई  ठाउँमा कन्सर्ट पक्का भइसकेको छ भने अरुतिर पनि हुने सम्भावना छ’ ।

ग्रेटर टोरन्टो क्षेत्रका दर्शक लक्षित गरेर मिसिसागामा भिटेनको प्रस्तुति राखिएको हो । ५५ डलर शुल्क तिरेर टिकट किनेका दर्शकले भिटेनलाई सेप्टेम्बर ६ साँझमा मिसिसागाको एनापिलिस हलमा देख्ने सुन्नेछन् ।

यस्तै, ५५ डलर नै शुल्क तोकिएको भ्यान्कुभरको कन्सर्ट सेप्टेम्बर १२ शुक्रवार साँझ अरुम इभेन्ट सेन्टरमा हुनेछ । दुबै कन्सर्टका टिकट टिलिभ्स इन्कको वेबसाइटमार्फत खरिद गर्न सकिनेछ ।

रौतहटमा जन्मेका भिटेन २०१७ देखि नेपाली हिपहप म्युजिकमा आवद्ध छन् । कथा, सिमसिमे पानी, गल्ली सडक आदि उनका चर्चित गीत हुन् ।

Leave a Reply