पोर्चुगल — नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलमा बस्ने नेपालीहरुका लागि विद्युतीय राहदानी (इ-पासपोर्ट) को अनलाइन आवेदन खुला गरेको छ ।
राजदूतावासले आज शुक्रबार एक सूचना जारी गर्दै आगामी अगष्ट १७ देखि १६ सेप्टेम्बर, २०२५ सम्मका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो ।
राहदानीको म्याद सकिएका, चाँडै सकिन लागेका वा राहदानी हराएका/च्यातिएका व्यक्तिहरूले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
आवेदकहरूले सर्वप्रथम नेपाल सरकारको राहदानी विभागको वेबसाइट https://emrtds.nepalpassport.gov.np/ मा गएर अनलाइन फाराम भर्नुपर्नेछ । फाराम भरिसकेपछि त्यसको प्रिन्ट आउट, सक्कली राहदानी र नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपिहरू अनिवार्य रूपमा लिएर जानुपर्नेछ ।
त्यस्तै, तोकिएको मिति र समयमा आवेदकहरू स्वयं बायोमेट्रिक्स (औँठा छाप र फोटो) का लागि लिस्बनस्थित राजदूतावासको कार्यालय, Rua Pero de Alenquer 29, 1400-293, Lisboa मा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
नाबालकका लागि आवश्यक थप कागजातहरू
नाबालकहरूको हकमा भने थप कागजातहरू पेश गर्नुपर्नेछ । अनलाइन फारामका साथमा नाबालक परिचय पत्र, जन्मदर्ता प्रमाणपत्र, बुबा र आमाको नागरिकता प्रमाणपत्र तथा राहदानी र विवाह दर्ता प्रमाणपत्रको सक्कल तथा प्रतिलिपिहरू आवश्यक पर्नेछ ।
राहदानी आवेदनसम्बन्धी थप विस्तृत जानकारीका लागि राजदूतावासको आधिकारिक वेबसाइट https://pt.nepalembassy.gov.np/pages/passport-service-4/ हेर्न सकिने दूतावासले जनाएको छ ।