Home Login
प्रवास

पोर्चुगलका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच फोन वार्ता

लिस्बन — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । वार्तामा दुई देशबीचको आर्थिक, राजनीतिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरहरूबारे छलफल भएको प्रधानमन्त्री मोन्टेनेग्रोले जानकारी दिनुभएको छ ।

एसिया भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोन्टेनेग्रोले सामाजिक सञ्जाल ‘X’ मार्फत आफूहरूबीच भएको कुराकानीबारे जानकारी दिनुभएको हो । उहाँले आफ्नो पोस्टमा लेख्नुभएको छ, “मैले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हाम्रो गठबन्धन र द्विपक्षीय सम्बन्धको बारेमा फोनमा कुरा गरेको छु । हामी दुवैले अमेरिका र पोर्चुगल बीचको आर्थिक, राजनीतिक र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने धेरै अवसरहरू देखेका छौं ।”

यसका साथै, हालै लिस्बनमा भएको ग्लोरिया फ्युनिक्युलर (एक प्रकारको केबल कार) दुर्घटनामा परी १६ जनाको ज्यान गएको दुःखद घटनाप्रति राष्ट्रपति ट्रम्पले पोर्चुगल र त्यहाँका जनताप्रति गहिरो समवेदना र ऐक्यबद्धता प्रकट गर्नुभएको पनि प्रधानमन्त्री मोन्टेनेग्रोले उल्लेख गर्नुभएको छ । “ग्लोरिया लिफ्ट दुर्घटनाको बारेमा राष्ट्रपति ट्रम्पले मप्रति व्यक्त गर्नुभएको ऐक्यबद्धताबाट म गहिरो रूपमा प्रभावित भएँ,” उहाँले थप्नुभयो ।

गत सेप्टेम्बर ३, २०२५ मा लिस्बनको एक ऐतिहासिक पर्यटकीय आकर्षणको केन्द्र रहेको ग्लोरिया फ्युनिक्युलर पटरीबाट छुट्टिएर दुर्घटनाग्रस्त हुँदा उक्त दुखद घटना घटेको थियो । दुर्घटनामा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै व्यक्ति घाइते भएका थिए ।

प्रधानमन्त्री मोन्टेनेग्रो हाल चीनको भ्रमण सकेर जापानको दुई दिने आधिकारिक भ्रमणमा हुनुहुन्छ । उहाँले जापानमा रहँदा आफ्ना समकक्षी र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यही व्यस्त भ्रमणका बीच दुई शीर्ष नेताहरूबीच यो वार्ता भएको हो । यस वार्ताले पोर्चुगल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply