Home Login
संघ-संस्था

साइप्रसमा नेपाली सेफ सोसाइटीद्वारा ‘भान्से धमाका २’ को आयोजना

साइप्रस (लिमासोल) — हिन्दू नेपालीहरूको महान चाड बडा दशैंको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी, साइप्रसले विशेष साँस्कृतिक कार्यक्रम ‘भान्से धमाका २’ आयोजना गर्ने भएको छ । आउँदो अक्टोबर ५ तारिख, आइतबारका दिन साइप्रसको दोस्रो ठूलो सहर लिमासोलस्थित ट्रिकिस प्यालेस हलमा यो भव्य कार्यक्रम आयोजना हुन लागेको हो ।

स्थापनाकालदेखि नै साइप्रसमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले गत वर्षको ‘भान्से धमाका’ को सफलतापछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको हो । प्रवासमा रहेका नेपालीहरूलाई दशैंको पारिवारिक र सांस्कृतिक माहोल प्रदान गर्ने, आपसमा शुभकामना आदानप्रदान गर्ने तथा नेपाली कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

यस वर्षको ‘भान्से धमाका २’ को मुख्य आकर्षणको रूपमा पछिल्लो समयका चर्चित लोक तथा आधुनिक गायक तुलसी शिवाकोटी रहने भएका छन् । सन् २०१३ मा स्पेनबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका शिवाकोटीले हालसम्म ४० भन्दा बढी गीतहरू रेकर्ड गराइसकेका छन् । उनका ‘हे माया’, ‘चटपटेको ठेला’, ‘काठमाडौंमा’, र ‘सुस्तरी सुस्तरी’ जस्ता गीतहरू दर्शक तथा श्रोतामाझ निकै लोकप्रिय छन् । कार्यक्रममा गायक शिवाकोटीले आफ्ना यिनै चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई नचाउनेछन् ।

कार्यक्रममा गायक शिवाकोटीको प्रस्तुतिसँगै साइप्रसमा रहेका स्थानीय कलाकारहरूले पनि विभिन्न आकर्षक नृत्य तथा गायन प्रस्तुत गर्नेछन् । आयोजकका अनुसार, कार्यक्रम केवल गीत-संगीतमा मात्र सीमित नभई दशैंको पूर्ण अनुभव दिने किसिमको हुनेछ । सहभागीहरूले एक-आपसमा टीका-जमरा ग्रहण गरी आशीर्वाद साटासाट गर्न सक्नेछन् भने सेफ सोसाइटीको आयोजनामा हुने कार्यक्रम भएकाले विभिन्न स्वादिष्ट नेपाली परिकारहरूको पनि आनन्द लिन पाउनेछन् ।

कार्यक्रम आइतबार बिहान १० बजेदेखि सुरु हुनेछ र यसका लागि प्रति व्यक्ति २० युरो शुल्क तोकिएको छ । आयोजकले साइप्रसमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई दशैंको उल्लास साट्न र कार्यक्रमलाई भव्यताका साथ सफल पार्न हार्दिक अनुरोध गरेको छ । यो कार्यक्रमले प्रवासमा रहेर पनि आफ्नो संस्कृति र चाडपर्वप्रतिको लगाबलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ ।

 

Leave a Reply