Home Login
नेपाली राजदूतावास लिस्बन

पोर्चुगलस्थित नेपाली दूतावासद्वारा राहदानी वितरण सम्बन्धी जरुरी सूचना जारी

पोर्चुगल — पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली राजदूतावासले एक जरुरी सूचना प्रकाशित गरी ‘लट ४’ अन्तर्गत राहदानीका लागि आवेदन दिएका आवेदकहरूका राहदानी वितरणका लागि तयार भएको जानकारी दिएको छ । दूतावासले सम्बन्धित आवेदकहरूलाई कार्यालय समयमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन अनुरोध गरेको छ ।

दूतावासद्वारा जारी सूचना अनुसार, राहदानी लिन आउँदा आवेदकहरूले आफ्नो नाम रहेको क्रम संख्या (S.No.) पहिले नै नोट गरेर ल्याउनुपर्नेछ, जसले गर्दा वितरण प्रक्रिया छिटो र सहज हुनेछ । राहदानी बुझ्नका लागि आवेदक स्वयं निम्न कागजातसहित उपस्थित हुनुपर्नेछ :

– आफूसँग भएको सक्कल पुरानो राहदानी
– राहदानी बनाउँदा पैसा तिरेको सक्कल रसिद

आफैँ उपस्थित हुन नसक्नेका लागि वैकल्पिक व्यवस्था

यदि कुनै कारणवश आवेदक स्वयं उपस्थित हुन नसक्ने अवस्था भएमा, आफ्नो प्रतिनिधि (वारिश) मार्फत पनि राहदानी बुझ्न सकिने व्यवस्था दूतावासले गरेको छ । यसका लागि निम्न कागजातहरू अनिवार्य गरिएको छ :

– आवेदकको सक्कल पुरानो राहदानी
– पैसा तिरेको सक्कल रसिद
– आवेदकद्वारा लिखित मञ्जुरीनामा

सेवा समय र सम्पर्क ?

दूतावासले राहदानी वितरण तथा सो सम्बन्धी जानकारी लिने समय कार्यालय खुलेको दिन दिउँसो २ बजेपछि तोकेको छ । आवेदकहरूले राहदानी बुझ्नका लागि दूतावासको कार्यालय, Rua Pero de Alenquer 29, 1400-069, Lisboa मा सम्पर्क गर्न सक्नेछन् ।

अन्य कन्सुलर सेवाहरू भने कार्यालय खुलेको दिन बिहान ९:१५ देखि दिउँसो १:१५ सम्म उपलब्ध हुनेछन् । सेवाग्राहीले थप जानकारीका लागि दूतावासको ईमेल eonlisbon@gmail.com वा टेलिफोन नम्बर 213011308 मा सम्पर्क गर्न सक्नेछन् ।

नयाँ अपोइन्टमेन्ट हाललाई स्थगित

यसका साथै, दूतावासले प्राविधिक कारणवश नयाँ अपोइन्टमेन्ट खोल्ने कार्य हाललाई स्थगित गरिएको जनाएको छ । नयाँ अपोइन्टमेन्ट कहिलेदेखि खुला हुने भन्ने बारेमा पछि अर्को सूचना जारी गरिने व्यहोरा पनि दूतावासले स्पष्ट पारेको छ ।

दूतावासले आवेदकहरूलाई आफ्नो नाम सूचीमा भए/नभएको यकिन गर्न राजदूतावासको आधिकारिक वेबसाइटमा राखिएको लिंक हेर्न र आवश्यक कागजातसहित तोकिएको समयमा उपस्थित हुन पुनः अनुरोध गरेको छ ।

Leave a Reply