इटाली — क्यानडाको म्याकगिल विश्वविद्यालयले हालै गरेको एक अध्ययनले स्मार्टफोनको लत विश्वव्यापी रूपमा बढ्दै गएको देखाएको छ, जसमा नेपाल पनि शीर्ष १० देशको सूचीमा परेको छ । अध्ययन अनुसार, स्मार्टफोनको लतको सबैभन्दा उच्च दर चीनमा रहेको छ भने साउदी अरेबिया र मलेसिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
“कम्प्युटर्स इन ह्युमन बिहेभियर” नामक जर्नलमा प्रकाशित यो अध्ययन सन् २०१४ देखि २०२० सम्म विश्वका २४ देशका करिब ३४ हजार व्यक्तिमा गरिएको अनुसन्धानको एक विस्तृत मेटा-विश्लेषण हो । अध्ययनमा विशेषगरी १५ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई केन्द्रित गरिएको थियो, किनभने यही उमेर समूहमा स्मार्टफोनको प्रयोग र स्वामित्व दर सबैभन्दा उच्च रहेको पाइन्छ ।
अनुसन्धानकर्ताहरूले ‘स्मार्टफोन एडिक्सन स्केल’ (SAS) लाई आधार मानेर विभिन्न देशहरूलाई अंक प्रदान गरेका थिए । यसमा चीनले सबैभन्दा बढी ३६ अंक प्राप्त गरेको छ भने नेपाल २९.४१ अंकका साथ १०औं स्थानमा रहेको छ ।
अध्ययनमा उल्लिखित देशहरूको वरीयता सूची :
१. चीन २. साउदी अरेबिया ३. मलेसिया ४. ब्राजिल ५. दक्षिण कोरिया ६. इरान ७. क्यानडा ८. टर्की ९. इजिप्ट १०. नेपाल ११. इटाली १२. अष्ट्रेलिया १३. इजरायल १४. सर्बिया १५. जापान १६. संयुक्त अधिराज्य (बेलायत) १७. भारत १८. संयुक्त राज्य अमेरिका १९. रोमानिया २०. नाइजेरिया २१. बेल्जियम २२. स्विट्जरल्याण्ड २३. फ्रान्स २४. जर्मनी
किन बढ्दैछ स्मार्टफोनको लत ?
अध्ययनले स्मार्टफोनको बढ्दो लत पछाडि विभिन्न सामाजिक तथा सांस्कृतिक कारणहरू हुन सक्ने औंल्याएको छ । अनुसन्धान कर्ताहरूका अनुसार, पूर्वी एसियाली देशहरूमा जहाँ सामाजिक सद्भाव र सामूहिकतालाई बढी महत्त्व दिइन्छ, त्यहाँका मानिसहरू सामाजिक सञ्जाल र मेसेजिङ एपहरूमार्फत निरन्तर एकअर्कासँग जोडिरहनुपर्ने दबाब महसुस गर्छन् । यसले स्मार्टफोनको प्रयोगलाई बढावा दिइरहेको छ ।
म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यो पनि बताएका छन् कि स्मार्टफोनको लत वास्तवमा मानिसको सामाजिक हुने नैसर्गिक इच्छाको एक अतिरञ्जित रूप हो । मानिसहरू सामाजिक प्राणी भएकाले अरूसँग जोडिन चाहन्छन् र स्मार्टफोनले यो प्रक्रियालाई सहज र निरन्तर बनाइदिएको छ ।
नेपालमा स्मार्टफोन लतको प्रभाव ?
नेपालमा पनि स्मार्टफोनको लतले गम्भीर सामाजिक तथा मानसिक स्वास्थ्य समस्याहरू निम्त्याइरहेको विज्ञहरू बताउँछन् । यसको प्रभाव विशेषगरी युवा तथा किशोरकिशोरीहरूमा बढी देखिएको छ ।
मानसिक स्वास्थ्यमा असर : मनोचिकित्सकहरूका अनुसार, स्मार्टफोनको अत्यधिक प्रयोगले युवाहरूमा डिप्रेसन, एन्जाइटी (चिन्ता) र एक्लोपना जस्ता समस्याहरू बढाइरहेको छ । सामाजिक सञ्जालमा देखिने अरूको जीवनशैलीसँग आफ्नो तुलना गर्ने प्रवृत्तिले हीनताबोध बढाएको छ ।
शैक्षिक प्रदर्शनमा ह्रास : विद्यार्थीहरूमा अध्ययनमा ध्यान केन्द्रित गर्न नसक्ने, स्मरणशक्ति कमजोर हुने र शैक्षिक प्रदर्शन खस्किँदै जाने जस्ता समस्याहरू देखिएका छन् ।
निद्रामा समस्या : राति सुत्नुअघि स्मार्टफोन चलाउने बानीले निद्राको गुणस्तरमा कमी ल्याएको छ, जसले गर्दा दिनभरि थकान महसुस हुने र अन्य स्वास्थ्य समस्याहरू निम्तिने गरेका छन् ।
सामाजिक सम्बन्धमा कमी : भर्चुअल संसारमा बढी समय बिताउँदा वास्तविक पारिवारिक र सामाजिक सम्बन्धहरू कमजोर बन्दै गएका छन् ।