Home Login
साईप्रस

लिमासोल घटना : नेपाली समुदायलाई तरंगित बनाउने आरोप

साइप्रस — गत सेप्टेम्बर २२ मा साइप्रसको लिमासोलमा घटेको एक घटनाले नेपाली समुदायलाई गहिरो प्रभाव पारेको छ ।

साइप्रसमा करिब १४ हजार नेपाली बस्छन्, जसमध्ये झण्डै १० हजार जना हाउस्मेड वा नानीको रूपमा काममा संलग्न छन् । यस्तो पृष्ठभूमिमा आएको समाचारले समुदायमा ठूलो हलचल ल्यायो ।

मिडियाले आरोपितको लिङ्ग, कार्य भूमिका (नानी कि सामान्य घरेलु कामदार) स्पष्ट नगरेको कारण समुदायमा अन्यौल र शंका बढ्यो । धेरैले समाचारलाई अधुरो ठाने, कतिले झुठा आरोप हुन सक्ने अनुमान गरे । लामो अनुभव भएका कामदारले यस्तो अवस्थामा कामबाट निकाल्ने प्रपञ्च हुन सक्ने भनी सचेत गराए ।

समाचार अनुसार, २१ तारिख आइतवार बालिकाको मालिक्नी विश्राम लिन गएको समयमा नेपाली मेडले बालिकाको हेरचाह सम्हालेको बेला दुर्व्यवहार भएको आरोप लाग्यो ।

सोमबार बिहान, २२ तारिख, मेड पक्राउ परेकी थिइन् र लिमासोल जिल्ला अदालतले बन्द कोठामा सुनुवाइ गरी ८ दिनको हिरासत आदेश दिएको थियो । प्रारम्भिक बयानमा मेडले आफू “बच्चासँग खेलिरहेको मात्र” बताएकी थिइन् ।

अदालतले दिएको ८ दिनको छानबिन अवधिभित्र ठोस प्रमाण नपुग्दा रिहा गर्ने तयारी भइरहेको थियो । तर रिहाइ को पुष्टी हुन सकेको छैन । विवादित भिडियोमा मेडले बालिकालाई क्रिम लगाउने क्रममा संवेदनशील अङ्ग छोएको देखिन्छ भन्ने विवरण आएका छन् । नाबालक संलग्न भएकाले आधिकारिक विवरण गोप्य राखिएको छ ।

साइप्रस र युरोपियन युनियनमा बालबालिकाको यौन दुर्व्यवहार गम्भीर अपराध मानिन्छ ।

बालबालिकाको परिभाषा : १८ वर्ष मुनिका सबै ।

अवैध क्रियाकलाप :
– बालबालिकासँग यौन सम्पर्क वा गतिविधिमा संलग्न गराउनु ।
– अश्लील फोटो वा भिडियो खिच्नु, हेर्नु वा वितरण गर्नु ।
– पैसा वा सुविधा दिएर यौन सम्पर्क गर्न लगाउनु ।
सजाय : १० वर्षदेखि आजीवन जेल ।
Sex Offender Register : अभियुक्तको नाम राखिने प्रावधान छ । 

साइप्रसमा बालबालिकासँग सम्बन्धित अपराधलाई शून्य सहनशीलताका साथ कारबाही गरिन्छ ।

नेपाली हाउस्मेड र नानीहरूले बच्चालाई आफ्नै परिवारका सदस्यझैं हेरचाह गर्छन् । उनीहरूले खाना खुवाउने, नुहाउने, खेलाउने, सुताउने, रमाइलो गर्ने जिम्मेवारी सम्हाल्छन् ।

नेपालीले बच्चा वा वृद्ध जहाँ काम गर्न सुरु गर्छन् उनीहरु संग भावनात्मक रुपमा जोडिने गर्छन् । बच्चालाई आफ्नै सन्तान जस्तै गरि स्याहार सुसार गर्ने, उनीहरु संगै बच्चा भै खेल्ने, बिहान उठे देखि नुहाई धुवाई, खाना देखि सुत्ने संगै गराएर हेरचाह गर्ने नेपाली maid  र ‘Nanny’ को दैनिकी हो । आफ्नो सन्तान छोडेर साइप्रस आएका आमा हुन् या सानै देखि भाइ बहिनिको जिम्मेवारी सम्हालेर आएका भर्खरैका युवती हुन् उनले विदेशीका बच्चा मा आफ्नो सन्तान, भाइ बहिनि देख्नु आफ्नो काम, भावना  र रोजगारदाता प्रति को वफादारिता हो ।

यति कै पनि कलिला बिदेशी बच्चा हेरी रहु लाग्ने र आफु संगै रमाउदा को स-साना खुसिका पल फोटो र भिडियो उतार्नु, सामाजिक संजालमा हाल्नु हामी नेपालीलाई सामान्य लाग्न सक्छ । पार्क जाँदा होस् या प्ले ग्राउण्ड, समुन्द्र किनारमा नुहाउन जाँदा होस् या सपिङ्ग गर्न जाँदा होस्, हरेक Nanny / housemaid ले फोटो निकाल्नु सामान्य हुन सक्छ तर त्यस्ता साना कुरा नै रोजगारदातालाई मन नपरेको हुन सक्छ त्यसैले  बच्चासँग फोटो वा भिडियो खिच्दा पनि अभिभावकको  अनिवार्य अनुमति लिनुहोस् । 

रमाइलो को लागि  टिकटक भिडियो र रिल्स बनाउदा  अत्यन्तै ध्यान दिनु होस् । बच्चा संग वा याया पापु संग भिडियो बनाउदा अनिवार्य अनुमति लिएर मात्र गर्ने गर्नुहोस् । रोजगारदाताको घर भित्र बसेर भिडियो/फोटो बनाउन तपाइलाई अनुमति चाहिन्छ, १५ – ३० सेकेण्ड को भिडियो ले के हुन्छ भन्ने सोच्दै हुनु हुन्छ भने सचेत हुनु होस् ।  

यस क्रममा सामान्य लाग्ने फोटो वा भिडियो खिच्ने क्रियाकलाप पनि संवेदनशील समाजमा गलत बुझिन सक्छ । त्यसैले :

  • अभिभावक वा रोजगारदाताको अनुमति बिना फोटो वा भिडियो खिच्नु हुँदैन ।
  • टिकटक वा सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्दा सतर्क रहनुहोस् ।
  • घरभित्र खिचिएको छोटो भिडियो वा फोटोले पनि कानुनी समस्या निम्त्याउन सक्छ ।

साइप्रसमा यस्ता घटना पहिले पनि भएका छन् । कोरोना महामारीअघि निकोसियामा एक नेपाली कामदारलाई यस्तै आरोपमा पक्राउ गरिएको थियो, तर प्रमाण नपुग्दा सात दिनमै रिहा गरिएको थियो । फिलिपिनो र भारतीय कामदारहरूमाथि पनि यस्ता घटना भइसकेका छन् ।

यस्ता घटनाहरू कतिपय अवस्थामा कामदार र रोजगारदाताबीचको असन्तुष्टि, अधिकार माग वा स-साना विवादका कारण झुठा आरोप लगाइने प्रकरण हुन् । सामाजिक सञ्जालमा भिडियो तथा टिप्पणीहरूले कामदारको पीडा बारम्बार देखाउँछन् ।

नेपाली समुदायमा बहस चलेको छ । केहीले आरोप असत्य भने, केहीले समाचार अपूरो र पूर्वाग्रही भएको ठाने । लामो अनुभव भएका कामदारले भने, कहिलेकाहीँ स–सानो विवाद वा असन्तुष्टिले झुठा आरोप उत्पन्न हुन सक्ने बताउँछन् ।

लिमासोलको घटना नेपाली समुदायका लागि चेतावनी हो ।

  • कामदारले आफ्नो पेशागत र व्यक्तिगत व्यवहारमा सतर्कता अपनाउनु आवश्यक छ ।
  • बच्चा वा वृद्धसँग सम्बन्धित कार्य गर्दा गोपनीयता, अनुमति र कानुनी मर्यादा कायम राख्नुपर्छ ।
  • घटना सत्य भए पनि, झुठा आरोपले समुदायको छवि र विश्वासमा असर पुर्याउँछ ।

साइप्रसमा बस्ने नेपालीहरूले यस्ता घटनाबाट शिक्षा लिएर आफ्नो जिम्मेवारी बुझ्नु अनिवार्य छ । कानुन, सामाजिक मर्यादा र व्यक्तिगत सतर्कतामा ध्यान दिएर मात्र सुरक्षित र सम्मानजनक पेशागत जीवन बिताउन सकिन्छ ।

(साइप्रसबाट प्रकाशित हुने नेपाली अनलाइन पत्रिका ‘साइप्रस डट कम’ बाट साभार)

Leave a Reply