भ्यालेटा (माल्टा) — परदेशको व्यस्तता र बाध्यात्मक परिस्थितिका बीच पनि आफ्नो मातृभूमिको चिन्ता र ‘मेरो देश बनोस्’ भन्ने गहिरो चाहना बोकेका नेपालीहरूले माल्टामा एकताबद्ध हुँदै नयाँ सांगठनिक अध्यायको सुरुवात गरेका छन् । माल्टामा रहेका ‘घण्टीप्रेमी’ तथा शुभेच्छुकहरूको ३७ जनाको सक्रिय उपस्थितिमा सम्पन्न एक विशेष भेलाले राजेन्द्र भण्डारीको नेतृत्वमा ‘प्रवास नेपाली सम्पर्क विभाग माल्टा’ को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ ।
कार्यक्रममा सहभागीहरूले प्रवासमा रहेर पनि देशको बिग्रँदो स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । देशमा उपयुक्त वातावरण नहुँदा विदेशिनुपरेको बाध्यता र आउने पिँढीको भविष्यप्रतिको चिन्ता नै भेलाको मुख्य भावनात्मक पक्ष बनेको थियो । अबको विकल्प भनेको रवि लामिछाने र बालेन्द्र (बालेन) शाहजस्तो नेतृत्वको एकता र उहाँहरूले अघि बढाएको ‘नीलो क्रान्ति’ नै भएको निष्कर्ष निकाल्दै, भेलाले यस अभियानमा प्रवासबाटै ‘एउटा इँटा’ बन्ने संकल्प गरेको छ । परदेशी भूमिमा सोचेजस्तो समय सधैँ अनुकूल नहुने भए पनि उपस्थित हुन नसकेका अन्य शुभेच्छुकहरूलाई समेत समेट्दै अघि बढ्ने प्रतिबद्धता कार्यक्रममा व्यक्त गरियो ।
भेलाले सर्वसम्मत रूपमा चयन गरेको नयाँ कार्यसमितिको प्रमुखको जिम्मेवारी राजेन्द्र भण्डारीले सम्हाल्नुहुनेछ । संगठनलाई सशक्त बनाउन उप–प्रमुखको जिम्मेवारी एलिश संजेल र रामचन्द्र न्यौपानेलाई दिइएको छ भने महिला उप–प्रमुखमा मनिषा थपलिया चयन हुनुभएको छ । यसैगरी, सचिवमा बिनोद खरेल र सह–सचिवमा सन्तोष बटालालाई चयन गरिएको छ । आर्थिक पाटोलाई पारदर्शी र चुस्त बनाउन कोष नियन्त्रकको भूमिका दामोदर लामिछानेले निर्वाह गर्नुहुनेछ भने उहाँलाई सघाउन सह–कोष नियन्त्रकमा सुरुबिर पुन मगर चयन हुनुभएको छ ।

समितिलाई पूर्णता दिन र संगठनको दायरा फराकिलो बनाउन सदस्यहरूमा राम प्रसाद रेग्मी, हेमकुमारी गौतम, राम बहादुर जीसी, सुरबीर गुरुङ, सुनिल भुषाल, पारस जंग शाह, निरज लामिछाने, तेज कुमार श्रेष्ठ, सन्तोष काफ्ले र बासुदेव चौलागाईंलाई चयन गरिएको छ ।
संगठनले युवा र महिलाहरूको सहभागितालाई पनि विशेष प्राथमिकतामा राखेको छ, जसअनुसार युवा संयोजकमा कमल न्यौपाने र महिला संयोजकमा शिला रिजाललाई जिम्मेवारी सुम्पिइएको छ । यसका साथै, संगठनको महत्त्वपूर्ण अंग मानिने र्याट (RAT) संयोजकमा तेज बिक्रम खड्का चयन हुनुभएको छ भने र्याट सदस्यमा विष्णु प्रसाद सापकोटा रहनुभएको छ । र्याट आफैँमा एउटा पूर्ण टिम भएकाले यसलाई चाँडै नै पूर्णता दिइने बताइएको छ ।
नवगठित कार्यसमितिले आगामी एक महिनाभित्रै कार्यसमितिको बैठक बसी सपथ ग्रहण तथा विशेष भेटघाट कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
हिजोको भेलामा उपस्थित हुन नसकेका सम्पूर्ण घण्टीप्रेमी नेपालीहरूलाई आगामी कार्यक्रममा एकै मञ्चमा उभिन र गोलबद्ध हुन नवनिर्वाचित समितिले विशेष आग्रह समेत गरेको छ ।





