Home Login
साईप्रस

साइप्रसमा भव्य दशैं कार्यक्रम : निकोसियामा टीका, जमरा र सांस्कृतिक रमझम हुने

साइप्रस — नेपालीहरुको महान चाड बडादशैंको अवसरमा साइप्रसको राजधानी निकोसियामा एक भव्य दशैं विशेष कार्यक्रम आयोजना हुने भएको छ । प्रवासमा रहेर पनि आफ्नो संस्कृति, परम्परा र चाडपर्वलाई जीवन्त राख्ने उद्देश्यले ‘निकोसिया युवा क्लब’ले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम यही आउँदो अक्टोबर ५ तारिख आइतबारका दिन निकोसियास्थित ‘एन्टोनाकिस बार रेस्टुरेन्ट’ मा आयोजना हुनेछ । आयोजकका अनुसार कार्यक्रम स्थानीय समयअनुसार बिहान १० बजे सुरु भई साँझ ५ बजेसम्म चल्नेछ ।

आयोजक संस्थाले युरोपाटीसँगको कुराकानीमा बताए अनुसार, साइप्रसमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकै ठाउँमा भेला गराई दशैंको शुभकामना आदानप्रदान गर्न तथा घर-परिवारबाट टाढा रहँदा पनि आफ्नो संस्कृति र परम्पराको जगेर्ना गर्दै चाडपर्वको अनुभूति दिलाउनु कार्यक्रमको मुख्य उद्देश्य हो ।

कार्यक्रममा मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गर्ने विशेष व्यवस्था मिलाइएको छ, जसले गर्दा सहभागीहरुले नेपालकै जस्तो दशैंको माहोल अनुभव गर्न सक्नेछन् ।

सांस्कृतिक प्रस्तुति र नेपाली स्वाद कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन स्थानीय नेपाली कलाकारहरुले आफ्नो बेजोड सांस्कृतिक प्रस्तुति दिनेछन् । लोकदोहोरी, आधुनिक गीत तथा नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकको विश्वास छ ।

यसका साथै, सहभागीहरुका लागि स्वादिष्ट नेपाली परिकारहरूको व्यवस्था गरिएको छ । दशैंको विशेष खानासँगै ‘लाइभ डिजे’को संगीतमा रमाउन पाउने हुँदा कार्यक्रम युवा पुस्ताका लागि पनि विशेष आकर्षण बन्ने देखिन्छ ।

टिकट तथा अन्य व्यवस्था

कार्यक्रममा सहभागी हुनका लागि आयोजकले प्रति व्यक्ति १५ युरोको टिकट शुल्क निर्धारण गरेको छ । उक्त शुल्कमा सहभागीहरुले दशैंको टीका-जमरा ग्रहण गर्न, स्वादिष्ट नेपाली परिकारहरूको आनन्द लिन, स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति हेर्न र ‘लाइभ डिजे’ को संगीतमा रमाउन पाउनेछन् ।

आयोजक ‘निकोसिया युवा क्लब’ ले साइप्रसमा कार्यरत तथा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई दशैंको रमझममा सहभागी हुन र आपसमा शुभकामना साटासाट गर्न हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply