पोर्चुगल – युरोपेली च्याम्पियनसिप २०२७ को छनोट यात्रामा अपराजित रहेको पोर्चुगिज यू-२१ राष्ट्रिय फुटबल टोलीले आउँदो अक्टोबर १० मा बुल्गेरियाको सामना गर्दैछ । अल्गार्वे क्षेत्रको पोर्टिमाओ म्युनिसिपल स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजे (स्थानीय समय ७:३०) मा सुरु हुने यो खेल हेर्नका लागि दर्शकहरूले कुनै शुल्क तिर्नु पर्ने छैन ।
पोर्चुगिज फुटबल महासंघले खेलमा नि:शुल्क प्रवेशको व्यवस्था गरेको हो, तर इच्छुक दर्शकले अक्टोबर ८ देखि पोर्टिमेनोन्स स्टोरबाट आफ्नो निमन्त्रणा टिकट लिनुपर्नेछ । टिकट वितरण स्टोरको खुल्ने समय बिहान १०:०० बजेदेखि १२:३० बजेसम्म र दिउँसो २:०० बजेदेखि साँझ ६:०० बजेसम्म तोकिएको छ । खेलको दिन स्टेडियमको ढोका साँझ ६:३० बजे खोलिनेछ र तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रवेश अनुमति हुनेछैन ।
समूहमा पोर्चुगलको बलियो पकड
यो खेल २०२७ मा आयोजना हुने यू-२१ युरोपेली च्याम्पियनसिपको लागि छनोट चरणअन्तर्गत समूह ‘बी’ को तेस्रो खेल हो । प्रशिक्षक लुइस फ्रेरेको नेतृत्वमा रहेको पोर्चुगिज टोलीले उत्कृष्ट सुरुवात गरेको छ । उसले आफ्ना पहिलो दुई खेलमा अजरबैजानलाई ५-० र स्कटल्याण्डलाई २-० को फराकिलो अन्तरले पराजित गर्दै समूहको शीर्ष स्थानमा ६ अंकसहित बलियो पकड जमाएको छ ।
पोर्चुगल र चेक गणराज्य समान अंकका साथ शीर्ष दुई स्थानमा छन् । बुल्गेरियाले पनि आफ्नो अपराजित यात्रा कायम राखेको छ; उसले एक खेलमा जित र एकमा बराबरी खेल्दै ४ अंक जोडेको छ । यो खेल जितेर आफ्नो शतप्रतिशत नतिजा कायम राख्दै समूहमा आफ्नो स्थिति थप बलियो बनाउने दाउमा पोर्चुगल हुनेछ ।
अल्गार्वेमा फर्कियो राष्ट्रिय टोली
यो खेलले पोर्चुगलको यू-२१ राष्ट्रिय टोलीलाई अल्गार्वे क्षेत्रमा पुनरागमन गराएको छ । यसअघि मार्च २०२४ मा पनि यसै क्षेत्रले २०२५ युरोपेली च्याम्पियनसिपका दुई छनोट खेलहरू आयोजना गरेको थियो । स्थानीय फुटबल संघका अध्यक्ष जाओ पेड्रो गोम्सले राष्ट्रिय टोलीलाई फेरि स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले स्थानीय युवा खेलाडीहरूलाई प्रोत्साहित गर्ने बताएका छन् ।
प्रशिक्षकको भनाइ र टोलीको तयारी
अजरबैजानविरुद्धको सानदार जितपछि प्रशिक्षक लुइस फ्रेरेले टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरेका थिए । उनले भने, “टोली पूर्ण रूपमा प्रतिबद्ध थियो र बल गुमाउँदा तुरुन्तै प्रतिक्रिया दिइरहेको थियो । हामीले पहिलो हाफमा गोल गर्ने चार-पाँचवटा स्पष्ट अवसरहरू सिर्जना गर्यौं।” उनले टोलीको सामूहिक प्रयास र खेलको अन्त्यतिरको सुन्दर गोलको प्रशंसा गरेका थिए । बुल्गेरियाविरुद्ध पनि सोही लय कायम राख्ने उनको लक्ष्य हुनेछ ।
यता, बुल्गेरियाली टोली पनि पोर्चुगललाई कडा टक्कर दिने तयारीमा छ । आफ्नो पछिल्लो खेलमा अजरबैजानसँग १-१ को बराबरी खेलेको बुल्गेरिया यस खेलबाट अंक खोस्दै छनोटको सम्भावना जीवित राख्न चाहन्छ ।
समूह ‘बी’ मा पोर्चुगल, बुल्गेरिया र चेक गणराज्यका साथै स्कटल्याण्ड, अजरबैजान र जिब्राल्टर जस्ता टोलीहरू रहेका छन् । यस खेलले समूहको आगामी समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।