Home Login
भिडियो

गायक रोशन लामाको ‘सम्झना’ को म्युजिक भिडियो सार्वजनिक

पोर्चुगल — पछिल्लो समय नेपाली गीत संगीतको बजार स्वदेशमा मात्र नभई विदेशमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ । नेपालका मेला-महोत्सवमा गुन्जिने कलाकारहरूको आवाज अब युरोप, अमेरिका र अष्ट्रेलियाका कार्यक्रमहरूमा पनि नियमित सुन्न थालिएको छ । यसै क्रममा, युरोपेली मुलुक पोर्चुगल नेपाली सांगीतिक गतिविधिहरूको नयाँ केन्द्र बन्दै गएको छ । रोजगारी र अध्ययनका लागि पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूको संख्या बढेसँगै यहाँ सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरूले पनि बाक्लो स्थान पाइरहेका छन् ।

युरोपमा बेलायत र बेल्जियमपछि सबैभन्दा धेरै नेपाली बसोबास गर्ने देशको रुपमा चिनिने पोर्चुगलमा हाल करिब ४० देखि ५० हजार नेपाली रहेको अनुमान छ । यही उर्वर भूमिमा रहेर एक नेपाली गायकले आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाएका छन् । विगत ६-७ वर्षदेखि पोर्चुगलमा बस्दै आएका गायक रोशन लामाले आफ्नो नयाँ गीत ‘सम्झना’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिलाई निरन्तरता दिइरहेका लामाले यस गीतमा आफ्नो बहुमुखी प्रतिभा प्रस्तुत गरेका छन् । ‘सम्झना’ को स्वर, शब्द र संगीत तीनै पक्ष उनैले सम्हालेका छन् । गीतमा प्रेम र विछोडको भावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

गायक लामाले पोर्चुगलमा विभिन्न सांगीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिँदै आएका छन् र स्थानीय नेपाली समुदायमा एक परिचित नाम बनिसकेका छन् । उनको यो नयाँ प्रस्तुतिले पोर्चुगलको नेपाली सांगीतिक क्षेत्रमा नयाँ उत्साह थपेको छ ।

सार्वजनिक भएको ‘सम्झना’ को म्युजिक भिडियोलाई युवा निर्देशक सम्राट चौहानले निर्देशन गरेका हुन् । भिडियोमा शशांक बोहरा र आँचल ताम्राकारको जीवन्त अभिनय देख्न सकिन्छ । उनीहरूको अभिनयले गीतको भावलाई अझ गहिराइमा पुर्‍याएको छ ।

भिडियोलाई रत्न ज्योति शाक्य र धिरज दुमी राईले खिचेका हुन् भने सम्पादनको जिम्मा पनि निर्देशक चौहानले नै लिएका छन् । सहायक निर्देशकको भूमिकामा बिबुश श्रेष्ठ रहेका छन् । गायक लामाको आफ्नै आधिकारिक युट्युब च्यानल ‘रोशन लामा’ मार्फत सार्वजनिक गरिएको यस भिडियोले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

यो म्युजिक भिडियोको निर्माणले पोर्चुगलमा नेपाली गीत संगीतको लागि प्राविधिक रूपमा पनि दक्ष नेपालीहरू रहेको प्रमाणित गरेको छ। गायक, निर्देशक, छायांकारदेखि कलाकारसम्मको यो सहकार्यले भविष्यमा थुप्रै नेपाली म्युजिक भिडियोहरू निर्माण हुन सक्ने सम्भावना देखाएको छ ।

हेर्नुहोस् भिडियो : 

 

Leave a Reply