Home Login
राष्ट्रिय

आजबाट युरोपाटी, तेस्रो वर्षमा प्रवेश

सम्पादकीय — युरोपमा अनलाइन डिजिटल पत्रिका, युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालि युरोपाटी डट.कम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा दुई वर्षेको यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं ।

हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा नयाँ शुरुवात गरेका थियौं, त्यसको सफलता परिणामबाटै सिद्ध गर्न सफल भएका छौं । हामीले यो यात्राको समग्र समीक्षा गर्दै स्पष्ट योजना र नीतिका साथ हामी प्रगतिशील भविष्यतर्फ लम्कने प्रण गर्दछौं ।

स्थापनाको दुई वर्षको यात्रा हाम्रो लागि लामो यात्राका लागि अनुभव र सिकाईको पूँजीका रुपमा रहेको छ । यो एक वर्षमा अनलाइन पत्रकारितामा युरोपाटी डट.कम सशक्त माध्यमको रूपमा उदाइ सकेको छ । दुई वर्षे यात्रा हामीले चुनौतीलाई अवसरमा मात्र बदलेका छैनौं, बरु छोटो समयमै प्राप्त गरेको ख्याति भनेकै समस्त पाठकहरुको विश्वास जित्न सफल भएका छौं ।

तपाईंहरुको विश्वास नै हाम्रो सम्पति हो । हाम्रो सफलताको श्रेय तपाईं पाठकहरुमै जान्छ । अनलाइन पत्रकारिता अब मुलधारमा उदाइसकेको छ । युरोपाटी डट.कम अनलाइन समाचारहरुको भीडमा छुट्टै स्थान बनाउन सफल भएको हाम्रो ठम्याइ छ । दुई वर्षे यात्राको फेहरिस्त तपाईंहरु सामु छर्लङै छ । हाम्रो आकार, प्रतिष्ठा र व्यापारले नै यसको मूल्यांकन गर्दछ भन्ने हामीलाई लाग्दछ ।

निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भिकता पूर्वक समाचार सामग्री प्रवाह गर्ने दायित्वबाट हामी कदापि विचलित हुने छैनौं । हामीलाई लाग्छ हाम्रो आफ्नै पहिचान र स्थान बनिसकेको छ । हामी आत्म प्रशंसामा शब्द खर्चदैनौं किनकी हामीले सिक्नुपर्ने पाटाहरु धेरै छन् । हामी हाम्रो सामग्रीहरुमा मात्र थप विविधता ल्याउने छौं ।

लोकतान्त्रिक व्यवस्था र नेपाली मौलिक सभ्यतामा देखिएका चिन्ता जनक खतराहरुबारे हामी अवगत नै छौं । बहिष्कृत व्यवस्था र पद्धतिको पुनरावृत्ति हामी सोच्न पनि सक्दैनौं । लोकतान्त्रिक गणतन्त्रको मर्मलाई कुल्चने र लोकतान्त्रिक व्यवस्था विरोधी अधिनायकवादी प्रवृत्ति, गणतन्त्र विरोधी, अतिवाद, जातीय, धार्मिक र सांस्कृतिक कट्टरपन्थीमा विश्वास गर्ने जस्ता उग्रवादी भड्काव विरुद्ध युरोपाटी डट.कमको खबरदारी कायमै रहनेछ ।

लोकतान्त्रिक गणतन्त्रमै देशभक्ति, विधिको शासन, सुशासन, समावेशीता, धर्मनिरपेक्षता, लगायत आधारभूत मान्यताको रक्षा गर्न सक्छ भन्ने हाम्रो मान्यता हो । लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने र समृद्ध देश निमार्णका जोखिमहरु सँग लड्नु हाम्रो पनि कर्तव्य ठान्दछौं ।

प्रविधिको विश्वव्यापी विकाससँगै बढ्दो इन्टरनेटको पहुँचले परम्परागत मिडियाको स्थान डिजिटल मिडियाले ओगट्न थालेको छ । विश्वमा आइरहेको मिडियाको डिजिटल युगको ‘वेग’ले नेपालमा पनि अनलाइन पत्रकारितालाई समाचारको प्रमुख स्रोत बनाइसकेको छ । अनलाइन पत्रकारिताको गुणात्मक वृद्धि सँगै विज्ञापन खर्च पनि डिजिटल तर्फ मोडिएको छ ।

नेपालमा अब डिजिटल पत्रकारिता जबर जस्त उदाएको मात्र होइन, बढ्दो मोवाइलको पहुँच, सहज पहुँच र द्रुत समाचारको मागहरुमा अभुतपूर्व वृद्धि भएको छ ।

नैतिक अभ्यासबाट मात्र भरपर्दो संस्था बन्न सक्छ भन्ने हाम्रो मान्यता हो । हामी कुनैपनि दलगत आस्था, विचार, वादसहितका कुनै पनि निहीत स्वार्थको प्रभावमा छैनौं र नरहनेमा तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छौं ।

लोकतान्त्रिक मूल्य र मान्यता, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रता हाम्रो आत्मा हो, यसमा हामी किमार्थ सम्झौता गर्ने छैनौं ।

अबको हाम्रो प्राथमिकता थप संवेदनशील बन्दै पाठकहरूको चाहना अनुसारको श्रव्यदृष्य सामग्री, मल्टि मिडिया, अन्तक्रियासँगै अन्य भाषाहरु थप्ने र विश्लेषणात्मक सामग्रीहरु पस्कनेमा केन्द्रित हुनेछ ।

हामीले डिजिटल मिडियामा नयाँ आयाम थप्ने केही योजनाहरुलाई कार्यान्वयनमा लैजाने छौं र नयाँ सामग्रीहरु पस्कने अठोट गर्दछौं ।

हाम्रो सफलताको दुई वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने पाठक, शुभेच्छुक, विज्ञापनदाता, पत्रकार तथा कर्मचारी सबैमा धन्यवाद दिन चाहन्छौं । हाम्रो यात्राका क्रममा तपाईंहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै सिकाइबाट अनुभव प्राप्त गर्दै अघि बढ्नेछौं ।

हामीले समाजमा पैसा कमाउन र पैसाको लागि काम गर्न आएका होइनौं । हामीले थोरै भएपनि समुदायको लागि सही समाचार र केही सुधार गर्न सक्छौ भन्ने आट लिएर अगाडि आएका हौँ । त्यसैले त्यो कार्य हामीले गर्दै आइरहेका छौं र गर्नेछौ पनि ।

Leave a Reply