Home Login
साईप्रस

साइप्रसको निकोसिया युथ क्लबद्वारा मानवसेवा आश्रम हेटौंडालाई खाद्यान्न सहयोग

साइप्रस  साइप्रसको राजधानी निकोसियामा स्थापित नेपाली युवाहरूको संस्था, निकोसिया युथ क्लबले हेटौंडास्थित मानवसेवा आश्रमलाई करिब ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । प्रवासमा रहेर पनि आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै क्लबले हालै आयोजना गरेको दशैंतिहार शुभकामना आदानप्रदान कार्यक्रमबाट संकलित रकम यस मानवीय कार्यमा प्रयोग गरेको हो ।

क्लबले पहिलो पटक आयोजना गरेको उक्त सांस्कृतिक कार्यक्रम साइप्रसको निकोसियामा बसोबास गर्ने नेपालीहरूका लागि दशैंको उल्लास साटासाट गर्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर बनेको थियो । कार्यक्रममा सहभागीहरूले स्वादिष्ट नेपाली भोजनका साथै विभिन्न सांस्कृतिक प्रस्तुतिहरूको आनन्द लिएका थिए । केवल १५ युरो टिकट शुल्क तोकिएको उक्त कार्यक्रममा सहभागीहरूको उत्साहजनक उपस्थिति र सहयोगी भावनाका कारण उठेको रकमबाट क्लबले नेपालमा रहेको मानवसेवा आश्रमलाई सहयोग गर्ने निर्णय गरेको हो ।

यस सहयोगले विदेशमा रहेका युवाहरू आफ्नो कला, संस्कृति र चाडपर्वको संरक्षणमा मात्र नभई आफ्नो मातृभूमिको सेवामा पनि उत्तिकै सक्रिय र संवेदनशील छन् भन्ने कुरा पुनः प्रमाणित गरेको छ । निकोसिया युथ क्लबले आफ्नो पहिलो कार्यक्रमबाटै बचत भएको रकमलाई सामाजिक कार्यमा लगाएर आफूलाई एक सहयोगी भावना बोकेको युवाहरूको सशक्त संगठनको रूपमा स्थापित गरेको छ ।

मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रम सडकपेटीमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, अशक्त, र मानसिक तथा शारीरिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनका लागि समर्पित एक गैर-नाफामुखी संस्था हो ।

“सबैका लागि खाना, नाना र छाना” को मूल नाराका साथ आश्रमले देशभरका विभिन्न शाखाहरूमार्फत हजारौंलाई आश्रय दिँदै आएको छ । यस किसिमको सहयोगले आश्रममा आश्रित सयौं व्यक्तिहरूको भोजन व्यवस्थापनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

क्लबका पदाधिकारीहरूले भविष्यमा पनि यस्ता सामाजिक र मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । विदेशमा रहेर कमाएको केही अंश स्वदेशका दिनदुःखीहरूको सेवामा लगाउन पाउँदा निकै आत्मसन्तुष्टि मिलेको उनीहरूको भनाइ छ ।

Leave a Reply