Home Login
संघ-संस्था

लिस्बनमा ‘तमु ल्होछार–२०८२’ भव्यताका साथ सम्पन्न

लिस्बन (पोर्चुगल)  गुरुङ समुदायको महान् चाड तथा नयाँ वर्षको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा ‘तमु ल्होछार–२०८२’ भव्यताका साथ सम्पन्न भएको छ । तमु समाज पोर्चुगलको मुख्य आयोजनामा जनवरी ४ तारिख आइतबारका दिन एक विशेष सांस्कृतिक समारोहबीच यो पर्व हर्षोल्लासका साथ मनाइएको हो । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने मूल उद्देश्यका साथ आयोजित यो कार्यक्रममा पोर्चुगलस्थित नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता तमु समाज पोर्चुगलका अध्यक्ष मिलन गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा संस्थाका संस्थापक अध्यक्ष रमेश कुमार गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै, विशिष्ट अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोप कुमार राना मगर सरिक हुनुभएको थियो ।

कार्यक्रममा पोर्चुगलमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, कलाकार तथा समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

लिस्बनस्थित ‘स्पोर्ट लिस्बोआ ई ओलिभाइस’ को फुटबल कभर्ड हल (भित्री रङ्गशाला) मा आयोजना गरिएको यस कार्यक्रममा तमु संस्कृतिको मौलिक पहिचान झल्किने विविध सांस्कृतिक झाँकी, परम्परागत भेषभुषाको प्रदर्शन तथा लोक गीत–संगीत र नृत्यहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा तमु समुदायका मात्र नभई गैर–तमु नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समेत उल्लेख्य उपस्थिति थियो, जसले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो ।

सांगीतिक माहोललाई तताउन र कार्यक्रमलाई उल्लासमय बनाउन चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा चर्चित गायिका सोनु गुरुङ, ‘कौडा किङ’ का उपनामले परिचित गायक दुर्गा गुरुङ, गायक वीरेन्द्र गुरुङ तथा गायक लाहुरे कान्छाले आ–आफ्ना चर्चित र बेजोड सांगीतिक प्रस्तुतिहरू पस्कनुभएको थियो । कलाकारहरूको जोसिलो प्रस्तुतिमा हलमा उपस्थित दर्शकहरू छमछमी नाचेका थिए ।

विशेषगरी, सांगीतिक सत्रको अनौपचारिक सुरुवात गायक तथा मोडल शरद एल.जी.को प्रस्तुतिबाट भएको थियो । विगत केही महिनादेखि पोर्चुगललाई कर्मथलो बनाउँदै आउनुभएका शरदले आफ्नो पहिलो प्रस्तुति दिन थाल्नासाथ हलको माहोल एक्कासी तातेको थियो । उहाँको गीत सुरु हुनासाथ उपस्थित दर्शक तथा आयोजकहरू समेत स्टेजको अगाडि जम्मा भएर नाच्न र गाउन सुरु गरेका थिए, जसले कार्यक्रममा छुट्टै रौनक थपेको थियो ।

आयोजकले कार्यक्रम व्यवस्थापनका लागि प्रतिव्यक्ति २० युरोको टिकट दर निर्धारण गरेको भए तापनि दर्शकहरूको उत्साहमा कुनै कमी देखिएन । परम्परागत पहिरनमा सजिएका सहभागीहरू र कलाकारहरूको सांगीतिक घन्काइले आइतबार लिस्बनको माहोल नेपालमय बनेको थियो ।

Leave a Reply