इटाली — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इटालीको नवौं अधिवेशन नोभेम्बर ९ तारिखका दिन इटालीको मिलान शहरमा सम्पन्न भएको छ । अधिवेशनमा नेपाली वाणिज्य दूतावास रोमका तर्फबाट वाणिज्य दूत पाओलो नुगारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा एनआरएनए युरोप संयोजक प्रेम गुरुङ र एनआरएनए इटालीका संस्थापक अध्यक्ष डा. भिमबहादुर बम विशेष अतिथिको रूपमा सहभागी हुनुभएको थियो ।
अधिवेशनको सभापतित्व संघका २०२३–२०२५ कार्यकालका अध्यक्ष भवेशकुमार सिंहले गर्नुभएको थियो भने सञ्चालन विजय रानाले गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा कोषाध्यक्ष दिर्घा थापाले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने महासचिव अशोक उप्रेतीले अघिल्लो कार्यकालका गतिविधिबारे प्रतिवेदन पेश गर्नुभएको थियो ।
संघका उपाध्यक्ष देवानन्द बराल, नेपाल मितेरी मञ्च मिलानोका अध्यक्ष रोजन राना र आइसीसी सदस्य छबिलाल कंडेललगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै २०२३–२०२५ कार्यकालमा गरिएका कार्यहरूको प्रशंसा गर्नुभयो । संघका वरिष्ठ सल्लाहकार रिचर्ड भण्डारीले अघिल्लो कार्यकाल पूर्ण रूपमा सफल भएको बताउँदै नयाँ कार्यसमितिले पनि सहकार्य र सहमतिको आधारमा सबैलाई समेट्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वाणिज्य दूत पाओलो नुगारीले इटालीमा रहेका नेपालीहरूको हकहितका लागि वाणिज्य दूतावासले एनआरएनएसँग हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता जनाउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
एनआरएनए युरोप संयोजक प्रेम गुरुङले संघको हालको गतिविधि र युरोपका नेपालीहरूको अवस्थाबारे जानकारी दिँदै इटालीसहितका देशहरूमा संस्थागत एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । संस्थापक अध्यक्ष डा. भिमबहादुर बमले पनि अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा दिनुभयो ।
संघका अध्यक्ष भवेशकुमार सिंहले आफ्नो कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै, सहयोग र साथ दिने सबै इटालीवासी नेपालीहरू, स्थानीय समाजहरू, संघका सल्लाहकार, पूर्वअध्यक्षहरू, र नेपाली वाणिज्य दूतावासप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
अधिवेशनका अवसरमा स्वीटजरल्याण्डस्थित नेपाली राजदूतावासका राजदूत रामप्रसाद सुबेदीले पठाउनुभएको शुभकामना सन्देश पनि वाचन गरिएको थियो ।
निर्वाचन संयोजक नारायण डीसीका अनुसार सर्वसम्मतिले २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन भएको छ । नयाँ कार्यसमिति यसप्रकार छ — अध्यक्ष अशोक उप्रेती, उपाध्यक्ष निर्जम पुर्जा, महासचिव उमेश गुरुङ, सचिव रबिन्द्र अर्याल, कोषाध्यक्ष दिर्घा थापा, सह-कोषाध्यक्ष बिना मंग्राती, महिला संयोजक लक्ष्मी उप्रेती, युवा संयोजक विजय राना, सदस्यहरू गैरेसिंह डोबाल, उर्मिला कार्की न्यौपाने र सिरज कार्की रहनुभएको छ । त्यसैगरी आइसीसी सदस्यमा भवेशकुमार सिंह निर्विरोध रूपमा चयन हुनुभएको छ ।





