पोल्याण्ड — नेपाल तामाङ घेदुङ पोल्याण्डले मन्जुश्री संवत् २८६२ को पावन अवसरमा सोनाम ल्होछार विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘ता ल्हो’ अर्थात् घोडा वर्षको स्वागत गर्दै संस्थाले पोल्याण्डबासी नेपालीहरूमाझ आपसी सद्भाव र खुसी साटासाट गर्न यो वृहत् कार्यक्रम गर्न लागेको हो ।
प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यो विशेष सांस्कृतिक उत्सव फेब्रुअरी १४ का दिन हुनेछ । पोल्याण्डको लोड्ज शहरस्थित ul. Lodowa 94, 92-232 को हलमा आयोजना हुने उक्त कार्यक्रम दिउँसो १२ बजेबाट औपचारिक रूपमा सुरु हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा तामाङ समुदायको मौलिक पहिचान झल्कने विविध सांस्कृतिक रचनाहरू प्रस्तुत गरिनेछन् । परम्परागत भेषभूषा, डम्फुको तालमा सेलो नाच र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिले कार्यक्रमलाई उल्लासमय बनाउने अपेक्षा गरिएको छ । यस कार्यक्रमले केवल मनोरञ्जन मात्र प्रदान गर्ने छैन, बरु पोल्याण्डमा कर्मथलो बनाएर बसिरहेका नेपाली समुदायबीचको भावनात्मक एकता, भाइचारा र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
नेपाल तामाङ घेदुङ पोल्याण्डले यस ऐतिहासिक तथा सांस्कृतिक पर्वलाई भव्यताका साथ सफल पार्न पोल्याण्डका विभिन्न स्थानमा कार्यरत तथा बसोबास गर्ने सम्पूर्ण आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अपिल गरेको छ ।
संस्थाले समयमै उपस्थित भई आफ्नो सांस्कृतिक धरोहरको संरक्षण र सम्बर्धनमा साथ दिन सबैमा अनुरोध गरेको छ ।





