Home Login
पोर्चुगल

पोर्चुगलको नागरिकता कानून थप कडा बनाइँदै, संशोधित विधेयक राष्ट्रपतिकोमा पेश

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलले आफ्नो नागरिकता कानूनमा महत्त्वपूर्ण र कडा परिमार्जन गरेको छ । संसदबाट पारित भएको उक्त संशोधित नागरिकता विधेयकलाई अन्तिम स्वीकृतिका लागि राष्ट्रपति मार्सेलो रेबेलो दे साउजा समक्ष बेलें प्यालेस (राष्ट्रपति कार्यालय) पठाइएको छ ।

नयाँ कानूनले विदेशीहरूका लागि नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप जटिल बनाउने र गम्भीर अपराधमा दोषी ठहरिएकाहरूको नागरिकता खोस्ने जस्ता कडा प्रावधानहरू समावेश गरेको छ ।

के-के छन् मुख्य परिवर्तनहरू ?

१. विदेशीलाई नागरिकता पाउन लामो समय : नयाँ व्यवस्था अनुसार, विदेशीहरूले पोर्चुगिज नागरिकता प्राप्त गर्नका लागि पूरा गर्नुपर्ने समय सीमा बढाइएको छ । यसले पोर्चुगलको नागरिकता लिने प्रक्रिया पहिलेभन्दा लामो र थप चुनौतीपूर्ण बन्ने देखिएको छ । पोर्चुगलको नागरिकता प्राप्त गर्नका लागि सामान्यतया १० वर्षको कानुनी बसोबास अनिवार्य गरिएको छ । यद्यपि, पोर्चुगिज भाषी देशहरू (CPLP) र युरोपेली संघ (EU) का नागरिकहरूका लागि यो अवधि सात वर्ष कायम गरिएको छ ।

२. जन्मको आधारमा नागरिकतामा कडाइ : यसअघि पोर्चुगलमा जन्मिने कतिपय विदेशीका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था थियो । तर, नयाँ कानूनले ‘पोर्चुगलमा जन्मिएका सबैलाई नागरिकता दिने’ प्रावधानलाई सीमित गरेको छ । यसले ‘जस सोलि’ अर्थात् जन्मसिद्ध नागरिकताको अधिकारलाई संकुचित पार्नेछ ।

३. गम्भीर अपराधमा नागरिकता खोसिने : सबैभन्दा महत्त्वपूर्ण परिवर्तनका रूपमा, यदि कुनै व्यक्ति गम्भीर अपराधमा दोषी ठहरिएर चार वर्ष वा सोभन्दा बढी जेल सजाय पाएमा उसको नागरिकता खोस्न सकिने प्रावधान राखिएको छ । यो व्यवस्थाले देशको कानून र सुव्यवस्था कायम राख्न थप कठोरता अपनाउने संकेत गर्दछ ।

यो संशोधित नागरिकता कानून पोर्चुगलको संसदमा ठूलो राजनीतिक बहसको विषय बनेको थियो । यसलाई पारित गराउन सत्तारुढ गठबन्धन र दक्षिणपन्थी दलहरू एक ठाउँमा उभिएका थिए । कानूनको पक्षमा PSD, सेगा (Chega), IL (Iniciativa Liberal), CDS-PP, र JPP (Juntos pelo Povo) जस्ता दलहरूले मतदान गरेका थिए । उनीहरूले राष्ट्रिय सुरक्षा र आप्रवासनलाई थप व्यवस्थित गर्न यो कदम आवश्यक रहेको तर्क गरेका छन् ।

यद्यपि, संसदमा रहेका सम्पूर्ण वामपन्थी दलहरूले भने यस कानूनको कडा विरोध गरेका थिए । उनीहरूले यो कानून आप्रवासी-मैत्री नभएको, विभेदकारी रहेको र यसले पोर्चुगिज समाजको समावेशी चरित्रमाथि आघात पुऱ्याउने भन्दै विपक्षमा मतदान गरे ।

अब यो विधेयक राष्ट्रपति मार्सेलो रेबेलो दे साउजाको टेबलमा पुगेको छ । उनले यस विधेयकमा हस्ताक्षर गरेपछि यो कानूनका रूपमा लागू हुनेछ । यद्यपि, उनलाई यो विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाउने वा संवैधानिक समीक्षाका लागि पठाउने अधिकार पनि छ ।

Leave a Reply