Home Login
मनोरंजन

‘रमाइलो युरोप टूर’ का लागि उडे खेम सेन्चुरी र ओबी रायमाझी

काठमाडौँ — चर्चित लोक दोहोरी गायक तथा संगीतकार खेम सेन्चुरी र लोकप्रिय मोडल ओबी रायमाझी एक महिना लामो सांगीतिक यात्राका लागि युरोप प्रस्थान गरेका छन् । ‘रमाइलो युरोप टूर’ नाम दिइएको यस सांगीतिक अभियानका लागि यो जोडी शुक्रबार साँझ युरोपतर्फ उडेको हो ।

विशेष गरी चाडपर्वको अवसर पारेर आयोजना गरिएको यो टुरमा नेपाली डायस्पोरालाई संगीत र नृत्य मार्फत मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको छ ।

आयोजकका अनुसार यो सांगीतिक यात्राको औपचारिक सुरुवात २० डिसेम्बर मा पोर्चुगलको राजधानी लिस्बन बाट हुनेछ । त्यहाँ रहेका नेपाली समुदायमाझ आफ्नो प्रस्तुति दिएपछि यो जोडी युरोपका अन्य विभिन्न देशहरू २१ डिसेम्बरमा फ्रान्स, २२ डिसेम्बरमा नर्वे, २३ डिसेम्बरमा फिनल्याण्ड, २४ डिसेम्बरमा चेक रिपब्लिक, २७ डिसेम्बरमा माल्टा, २८ डिसेम्बरमा ग्रीसको एथेन्स र २९ डिसेम्बरमा बेल्जियममा उनले प्रस्तुति दिने तालिका छ ।

क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा आयोजना गरिएको हुनाले यो टुरले युरोपमा रहेका नेपालीहरूमाझ बेग्लै उत्साह थप्ने विश्वास गरिएको छ ।

गायक खेम सेन्चुरी पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै चर्चामा छन् । उनी चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनका कोचका रूपमा समेत अनुबन्धित भएका छन् । रियालिटी शोको व्यस्तताका बीच हुन लागेको यो टुरलाई उनका फ्यानहरूले निकै चासोका साथ हेरेका छन् । सेन्चुरीका दर्जनौँ गीतहरू युट्युब र टिकटकमा अत्यधिक लोकप्रिय छन् । उनीसँगै मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका ओबी रायमाझीको उपस्थितिले कार्यक्रममा थप रौनक थप्नेछ ।

यो वृहत् सांगीतिक कार्यक्रमको आयोजना ‘बीबी इभेन्ट’ ले गरेको हो । यो इभेन्ट म्यानेजमेन्ट कम्पनीको यो पहिलो आयोजना हो । कम्पनीले ‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ आफ्नो स्थापना गरेको जनाएको छ ।

बीबी इभेन्टका प्रतिनिधिहरूका अनुसार, यो टुर केवल सुरुवात मात्र हो । भविष्यमा पनि युरोपका विभिन्न शहरहरूमा नेपाली कला, संस्कृति झल्कने यस्तै कार्यक्रमहरू निरन्तर आयोजना गर्ने उनीहरूको योजना रहेको छ ।

Leave a Reply