Home Login
प्रवास

एक महिना लामो सांगीतिक यात्रा सकेर खेम र ओबी स्वदेश फिर्ता

पोर्चुगल चर्चित लोक दोहोरी गायक तथा संगीतकार खेम सेन्चुरी र लोकप्रिय मोडल ओबी रायमाझी आफ्नो एक महिना लामो युरोपको सांगीतिक यात्रा सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

‘रमाइलो युरोप टुर’ नाम दिइएको यो विशेष सांगीतिक अभियान सकेर कलाकारको टोली जनवरी १ तारिख (बिहीबार) नेपाल फर्किएका हुन् । विशेष गरी युरोपमा रहेका नेपाली डायस्पोरालाई लक्षित गर्दै चाडपर्वको अवसर पारेर आयोजना गरिएको यो टुरले प्रवासी नेपालीहरू माझ निकै उत्साहजनक र भव्य सांगीतिक माहोल सिर्जना गर्न सफल भएको छ ।

सन् २०२५ को डिसेम्बर २० मा पोर्चुगलको राजधानी लिस्बनबाट शुभारम्भ भएको यो सांगीतिक यात्राले युरोपका विभिन्न प्रमुख सहरहरूलाई तताएको थियो ।

करिब एक महिनाको अवधिमा गायक सेन्चुरी र मोडल रायमाझीको जोडीले फ्रान्स, नर्वे, फिनल्याण्ड, चेक रिपब्लिक, माल्टा, बेल्जियम र ग्रीसको एथेन्समा आफ्ना दमदार प्रस्तुतिहरू दिएका थिए । यात्राको क्रममा माल्टामा दुई पटक विशेष प्रस्तुति आयोजना गरिएको थियो । क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा आयोजित यी कार्यक्रमहरूमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो, जसले विदेशको भूमिमा पनि नेपालकै झझल्को दिने गरी सांगीतिक रौनक थपेको थियो ।

पछिल्लो समय नेपाली सांगीतिक आकाशमा निकै व्यस्त र चर्चित नाम हो– खेम सेन्चुरी । युट्युब र टिकटक लगायतका सामाजिक सञ्जालमा उनका दर्जनौँ गीतहरू ट्रेन्डिङमा छन् । सांगीतिक क्षेत्रमा आफ्नो बलियो पकड जमाएका सेन्चुरी हालै चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनका लागि कोचका रूपमा समेत अनुबन्धित भइसकेका छन्, जसले उनको क्रेजलाई अझ बढाएको छ । अर्कोतर्फ, मोडलिङ र नृत्य क्षेत्रमा आफ्नो बेग्लै र विशिष्ट पहिचान बनाएका ओबी रायमाझीको उपस्थितिले कार्यक्रममा थप ऊर्जा भरेको थियो । सेन्चुरीको सुरिलो गायन र रायमाझीको आकर्षक नृत्य प्रस्तुतिले युरोपका विभिन्न सहरमा रहेका नेपालीहरूलाई मन्त्रमुग्ध पारेको थियो ।

यो वृहत् सांगीतिक कार्यक्रमको व्यवस्थापन तथा आयोजना ‘बीबी इभेन्ट’ ले गरेको हो । स्मरणीय कुरा के छ भने, यो इभेन्ट म्यानेजमेन्ट कम्पनीको यो पहिलो आयोजना हो । आफ्नो स्थापनाकालमै ‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौँ’ भन्ने पवित्र उद्देश्य र मूल नारा बोकेको बीबी इभेन्टले पहिलो प्रयास नै निकै सफल र स्तरीय भएको जनाएको छ ।

आयोजकका अनुसार, पहिलो अनुभव भए पनि कार्यक्रम व्यवस्थापनदेखि दर्शकको प्रतिक्रियासम्म सबै पक्ष निकै सकारात्मक र उत्साहजनक रहेको छ ।

कार्यक्रम सकेर कलाकारहरू नेपाल फर्किएसँगै यस टुरको औपचारिक समापन भएको छ । युरोपका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूलाई एउटै सांगीतिक थलोमा ल्याएर मनोरञ्जन प्रदान गर्नुका साथै नेपालीपनको महसुस गराउन यो ‘रमाइलो युरोप टुर’ कोसेढुङ्गा साबित भएको छ ।

Leave a Reply