पोर्चुगल — पोर्चुगल सरकारले कामदार भिसा सम्बन्धी आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको छ । नयाँ नियमसँगै पोर्चुगल आउन चाहने नेपालीहरूलाई लक्षित गरी ठगी गर्ने प्रयासहरू भइरहेको भन्दै लिस्बनस्थित नेपाली राजदूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पोर्चुगलले ‘उच्च दक्ष’ बाहेक अन्य सबै प्रकारका कामदार भिसा बन्द गरिसकेको अवस्थामा पनि ठगी गर्ने गिरोहहरू सक्रिय रहेकोतर्फ सबैलाई सचेत गराएको हो । विज्ञप्ति अनुसार, पोर्चुगल सरकारले मिति २३ अक्टोबर २०२५ देखि लागू हुनेगरी आफ्नो विद्यमान अध्यागमन कानुनमा संशोधन गरेको छ ।
यस संशोधनले पोर्चुगलमा रोजगारीका लागि आउने विदेशी कामदारहरूलाई दिइने भिसा प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ । नयाँ व्यवस्था अनुसार, “उच्च दक्ष” जनशक्तिका लागि बाहेक अन्य सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरिएको छ । यो निर्णयबारे पोर्चुगल सरकारले औपचारिक जानकारी गराइसकेको दूतावासले प्रस्ट पारेको छ ।
कानुनी रूपमा कामदार भिसा बन्द भइसके पनि, यही मौकामा सर्वसाधारणलाई भ्रममा पारेर ठगी गर्ने प्रयासहरू भइरहेको दूतावासले जनाएको छ । “कानुनी बाटो बन्द हुँदाहुँदै पनि नेपाल तथा मध्यपूर्वका मुलुक लगायत क्षेत्रमा बस्ने नेपालीहरूलाई पोर्चुगलमा काम लगाइदिने प्रलोभनमा पारी ठगी गर्ने प्रयास भइरहेको बुझिएको छ,” दूतावासको विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय पोर्चुगलमा रोजगारी र बसोबासका लागि नेपालीहरूको आकर्षण बढेको फाइदा उठाउँदै दलाल तथा एजेन्टहरूले पुरानै शैलीमा प्रलोभन देखाएर रकम असुल्न सक्ने खतरा बढेको हो । राजदूतावासले पोर्चुगलको परिवर्तित अध्यागमन कानुनबारे स्पष्ट हुन र कुनै पनि प्रकारको प्रलोभन वा बहकाउमा नपर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
“यस्तो गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउनु हुन समेत सम्बन्धित सबैमा अनुरोध गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले पोर्चुगल आउने नाममा कुनै व्यक्ति वा संस्थालाई रकम बुझाउनु अघि पोर्चुगल सरकारको आधिकारिक सूचना र दूतावासको जानकारीमा ध्यान दिन पनि सबैलाई सल्लाह दिएको छ ।






