Home Login
प्रवास

पोर्चुगलमा आगलागी : नेपाली युवा रोशन थपलियाको सर्वस्व नष्ट

पोर्चुगल — पोर्चुगलको सान्ता क्रुज, पोवा दे पेनाफिर्म क्षेत्रमा बस्दै आउनुभएका नेपाली युवा रोशन थपलिया एक भिषण आगलागीको घटनामा पर्नुभएको छ । हालै उहाँ बस्दै आएको निवासमा भएको उक्त दुःखद आगलागीका कारण उहाँको घर तथा सम्पूर्ण सरसामान जलेर पूर्णरूपमा नष्ट भएको छ ।

यस आकस्मिक घटनाले थपलियाको जीवनमा ठूलो सङ्कट ल्याइदिएको छ । प्राप्त जानकारी अनुसार, आगलागीबाट उहाँको बासस्थान मात्र नभई, उहाँसँग रहेका लत्ताकपडा, नगद, राहदानी, आवासीय कार्ड लगायत अन्य महत्त्वपूर्ण कागजातहरू समेत जलेर खरानी भएका छन् । आगलागीले उहाँको सर्वस्व गुमेको छ, जसका कारण उहाँ अहिले पूर्ण रूपमा बसोबासविहीन हुनुभएको छ ।

घरबारविहीन भएपछि, थपलिया हाल अस्थायी रूपमा एउटा होस्टेलमा बस्न बाध्य हुनुभएको छ । तर, पोर्चुगल जस्तो महँगो ठाउँमा होस्टेलको दैनिक खर्च धान्न उहाँलाई निकै कठिन भइरहेको छ । उहाँले उच्च खर्चका कारण होस्टेलमा पनि लामो समय बस्न नसक्ने र आफू थप आर्थिक तथा मानसिक तनावमा परेको बताउनुभएको छ । सर्वस्व गुमाएको पीडासँगै बासस्थानको अनिश्चितताले उहाँलाई थप चिन्तित बनाएको छ ।

यस कठिन घडीमा, रोशन थपलियाले पोर्चुगलको सान्ता क्रुज, पोवा दे पेनाफिर्म र आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग मानवीय सहयोगको लागि विशेष अपिल गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “मेरो सबथोक जलेर नष्ट भयो । अहिले मलाई सबैभन्दा ठूलो समस्या बस्ने ठाउँको भएको छ । यो क्षेत्रमा बस्नुहुने कुनै पनि नेपाली महानुभावसँग यदि खाली कोठा छ वा कसैको घरमा एक जनालाई बस्न मिल्ने ठाउँ छ भने, कृपया मलाई अस्थायी बसोबासका लागि सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।”

आफ्नै एक नेपाली दाजुभाइ विपत्तिमा परेको यो सङ्कटको बेला, सानो सहयोगले पनि उहाँलाई ठूलो राहत मिल्नेछ । उहाँलाई बसोबासका लागि सहयोग गर्न चाहनुहुने कुनै पनि सहृदयी व्यक्तिले सिधै रोशन थपलियालाई निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

NAME : ROSHAN THAPALIYA
MBWAYA NUMBER : +351-920563688     IBAN : PT50 0007 0000 0038 7738 4892 3

Leave a Reply