म्याड्रिड (स्पेन) — स्पेनको दक्षिणपूर्वी क्षेत्रमा गत आइतबारदेखि आएको मुसलधारे वर्षा र भीषण आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ । विशेषगरी अन्डालुसिया क्षेत्रमा आँधीले ठूलो क्षति पुर्याएको छ ।
मलागा र ग्रानाडा प्रान्तमा आएको बाढीका कारण हालसम्म दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । शनिबार रातिदेखि सुरु भएको भारी वर्षाले नदी र खोलाहरूमा जलसतह बढेपछि यी दुर्घटनाहरू भएका हुन् ।
मलागा प्रान्तको अलहौरिन एल ग्रान्डे भन्ने स्थानमा शनिबार राति बाढीले एउटा भ्यान बगाउँदा ठूलो दुर्घटना निम्तिएको हो । ५३ र ५४ वर्षका दुई पुरुष सवार उक्त भ्यानलाई नदीको भेलले बगाएको थियो । खोजी कार्यका क्रममा आइतबार बिहान फहाला नदीमा उक्त भ्यान करिब १.६ किलोमिटर तल बगाएको अवस्थामा फेला परेको थियो । भ्यान पूर्ण रूपमा क्षतिग्रस्त र खाली भेटिएको थियो । आइतबार दिउँसो उद्धारकर्ताहरूले ती दुईमध्ये एक जनाको शव फेला पारेका छन् । भ्यानमा सवार अर्का व्यक्ति भने अझै बेपत्ता छन् र उनको खोजी कार्य तीव्र रूपमा जारी राखिएको छ ।
यसैगरी, ग्रानाडा प्रान्तको इलोरामा पनि बाढीले अर्को मानवीय क्षति गराएको छ । त्यहाँको ‘क्यानडा’ खोलामा आएको बाढीले मोटरसाइकलमा सवार एक युवालाई बगाएको थियो । सोमबार बिहान खोजीमा खटिएको उद्धार टोलीले ती युवकको शव फेला पारेको छ । यससँगै आँधीका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
मौसमविद्हरूका अनुसार आँधीको सबैभन्दा खतरनाक चरण अब टरिसकेको छ र यो बिस्तारै प्रायद्वीपबाट टाढा सर्दै गएको छ । यद्यपि, खतरा पूर्ण रूपमा हटेको भने छैन । मौसम विभागले भ्यालेन्सिया, बेलेरिक टापुहरू, अल्मेरिया र मुर्सियाका क्षेत्रहरूमा अझै पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ र तटीय तथा नदी किनारका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।





