Home Login
खेलकुद

पोल्यान्डमा ‘सातौँ राजा वीरेन्द्र स्मृति कप’ फुटबल प्रतियोगिता हुँदै

वारसा, पोल्यान्ड —  युरोपेली मुलुक पोल्यान्डमा बसोबास गर्ने नेपाली समुदायबीच लोकप्रिय मानिने ‘राजा वीरेन्द्र स्मृति कप’ फुटबल प्रतियोगिताको सातौँ संस्करण आयोजना हुने भएको छ ।

पोल्यान्डमा सक्रिय नेपाली युवाहरूको क्लब ‘द ब्रदरहुड’ को आयोजनामा स्व. राजा वीरेन्द्रको सम्झनामा यो एक दिवसीय प्रतियोगिता हुन लागेको हो । प्रवासमा रहेर पनि खेलकुदका माध्यमबाट आपसी भाइचारा र एकता कायम गर्ने उद्देश्यले सन् २०१८ देखि सुरु भएको यो प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।

आयोजकका अनुसार प्रतियोगिता क्रिसमसको सार्वजनिक बिदाको अवसर पारेर आगामी डिसेम्बर २५ का दिन सञ्चालन हुनेछ । खेल पोल्यान्डको राजधानी वारसास्थित डोमिनिका मेरिलिनेगोमा रहेको वारसा फुटबल सेन्टरको मैदानमा हुनेछ ।

सेभेन ‘ए’ साइड फर्म्याटमा खेलाइने यस प्रतियोगितामा भाग लिन चाहने इच्छुक टिमहरूका लागि टिम दर्ता खुला गरिएको छ । आयोजक क्लबका अनुसार आगामी डिसेम्बर १९ सम्म टिम दर्ता गरिसक्नुपर्नेछ ।

प्रतियोगितालाई प्रतिस्पर्धात्मक र उत्साहजनक बनाउन आयोजकले यस पटक आकर्षक नगद पुरस्कारको घोषणा गरेको छ ।

प्रथम पुरस्कार : प्रतियोगिताको विजेता टिमले ७ हजार पोलिस ज्लौटी (करिब २ लाख ७० हजार नेपाली रुपैयाँ) नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

द्वितीय पुरस्कार : उपविजेता बन्ने टिमले ३ हजार ७ सय ७७ ज्लौटी (करिब १ लाख ५० हजार रुपैयाँ) नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ ।

तृतीय पुरस्कार : तेस्रो स्थान हासिल गर्ने टिमले २ हजार ७ सय ७७ ज्लौटी (करिब १ लाख १० हजार रुपैयाँ) नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसका अलावा, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई हौसला स्वरूप विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

‘द ब्रदरहुड फुटबल क्लब’ले पोल्यान्डमा नेपालीपन र स्व. राजा वीरेन्द्रप्रतिको सम्मान स्वरूप सन् २०१८ देखि हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । यो प्रतियोगिता पोल्यान्डमा रहेका नेपाली खेलप्रेमीहरूका लागि एक प्रतिष्ठित खेल उत्सवका रूपमा स्थापित भएको छ ।

Leave a Reply