निकोसिया (साइप्रस) — सुनौलो भविष्यको सपना बुनेर वैदेशिक रोजगारीका लागि साइप्रस पुगेकी एक नेपाली महिलाको उपचारका क्रममा दुःखद निधन भएको छ ।
सर्लाही जिल्लाको लालबन्दी–७ निवासी ४६ वर्षीया मन्दिरा कुमारी विश्वकर्माको लिमासोलस्थित जनरल अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
गत डिसेम्बर २२ मा मात्रै घरेलु कामदारको रूपमा साइप्रस आइपुगेकी विश्वकर्मा लिमासोल नजिकैको एउटा गाउँमा एक वृद्ध दम्पतीको हेरचाह गर्ने काम गर्दै आइरहेकी थिइन् । काम सुरु गरेको १० दिनमै, अर्थात् डिसेम्बर ३१ तारिखका दिन उनलाई अचानक हृदयघात भएको थियो । हृदयघात भए लगत्तै उनलाई अस्पताल भर्ना गरिएको भए पनि उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।
हृदयघातका कारण उनको मुटु अचानक बन्द भएको थियो । मुटु बन्द भएको समयमा मस्तिष्कमा लामो समयसम्म अक्सिजनको आपूर्ति हुन नसकेका कारण उनी ‘ब्रेन डेथ’ (मस्तिष्कले काम गर्न छोडेको) को अवस्थामा पुगेकी थिइन् । अस्पतालले उनको ज्यान जोगाउन अधिकतम प्रयास गरे पनि स्वास्थ्यमा कुनै सुधार आउन सकेन र अन्ततः जनवरी ११ गते आइतबार बिहान ९:३० बजे उनलाई मृत घोषित गरियो ।
साइप्रसका लागि नेपाली अवैतनिक वाणिज्यदूत डा. राम जीवन पन्जियारले अस्पतालको आधिकारिक प्रतिवेदनका आधारमा मृत्युको पुष्टि गर्नुभएको छ ।
उहाँका अनुसार घटनाको बारेमा प्रहरी रिपोर्ट प्राप्त हुन बाँकी रहे पनि अस्पतालले मृत्युको जानकारी गराइसकेको छ । नेपाली कन्सुलर कार्यालयले मृतकका परिवारलाई घटनाबारे जानकारी गराइसकेको छ र आवश्यक कानुनी प्रक्रियाका लागि समन्वय गरिरहेको छ ।





