पोर्चुगल — सञ्चालन समायोजन तथा पूर्वाधार निर्माण कार्यका कारण लिस्बनको काइस डो सोड्रे र अल्गेस बीचको रेल सेवा आज (शुक्रबार) देखि आइतबारसम्म प्रभावित हुने भएको छ ।
लिस्बन मेट्रो, सीपी–कम्बोइओस डे पोर्चुगल र इन्फ्रास्ट्रक्चर डे पोर्चुगलले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्माण कार्यका कारण सेवामा अवरोध आउने जानकारी गराएका हुन् ।
किन हुँदैछ अवरोध ?
यो अवरोध “सञ्चालन समायोजन” को एक हिस्सा हो । काइस डो सोड्रे स्टेशनमा ट्र्याक प्रतिस्थापन र नयाँ सुरुङ निर्माण कार्य भइरहेको छ । यो परियोजना लिस्बन रेल र मेट्रो नेटवर्कको आधुनिकीकरणको एक भाग हो, जसले भविष्यको ‘सान्तोस स्टेशन’ लाई सर्कुलर लाइनमा रहेको काइस डो सोड्रे स्टेशनसँग जोड्नेछ ।
विज्ञप्ति अनुसार, काइस डो सोड्रे र कास्केस लाइनमा चल्ने रेलहरूको समय तालिकामा देहाय बमोजिम परिवर्तन गरिएको छ :
शुक्रबार (आज) :
काइस डो सोड्रेबाट : राति १० बजे पछि कुनै पनि रेल छुट्ने छैनन् । कास्केसबाट : राति ९:३० बजे पछि कुनै पनि रेल प्रस्थान गर्ने छैनन् ।
शनिबार :
काइस डो सोड्रे बाट : मध्यरात (१२ बजे) पछि यात्राहरू निलम्बित हुनेछन् । कास्केसबाट : राति ११:३० बजे पछि यात्राहरू निलम्बित हुनेछन् ।
आइतबार (दुई चरणमा रद्द) :
बिहान : काइस डो सोड्रेबाट बिहान ५:३० देखि ८:२० सम्म र कास्केसबाट बिहान ५:३० देखि ७:४४ सम्मका रेलहरू रद्द हुनेछन् ।
बेलुका : काइस डो सोड्रेबाट बेलुका ८:०० देखि १:३० सम्म र कास्केसबाट बेलुका ७:३४ देखि १:३० सम्मका रेलहरू रद्द हुनेछन् ।
वैकल्पिक यातायात (सट्टा बस सेवा)
यात्रुहरूको असुविधालाई ध्यानमा राख्दै, सीपीले रेल नचल्ने समयमा काइस डो सोड्रे र अल्गेस बीच बस सेवा सञ्चालन गर्नेछ ।
रुट : बसहरू एभेनिडा २४ डे जुल्हो (Avenida 24 de Julho) र एभेनिडा दा इन्डिया (Avenida da Índia) भएर गुड्नेछन् ।
सुविधा : कम गतिशीलता भएका (ह्वीलचेयर प्रयोगकर्ता आदि) यात्रुहरूका लागि बसमा र्याम्पको व्यवस्था हुनेछ ।
प्रतिबन्ध : यी सट्टा बसहरूमा साइकल र स्कुटरहरू ढुवानी गर्न अनुमति दिइने छैन ।
लिस्बन मेट्रो : निर्माण कार्यको प्रभाव लिस्बन मेट्रो सेवामा पर्ने छैन; मेट्रो सेवा नियमित रूपमा सञ्चालन हुनेछ । ओइरास-कास्केस खण्ड : विज्ञप्तिमा उल्लेख भए अनुसार, कामको क्रममा ओइरास र कास्केस बीचको सीपी रेल सेवा पनि प्रभावित (निलम्बन) हुने जनाइएको छ, तसर्थ यात्रुहरूले सोही अनुसार यात्रा योजना बनाउन अनुरोध गरिएको छ । सम्बन्धित निकायहरूले निर्माण कार्यबाट पर्न जाने असुविधाप्रति क्षमा माग्दै पूर्वाधार सुधारका लागि यो कदम आवश्यक रहेको जनाएका छन् ।





