काठमाडौँ — राहदानी विभागले लामो समयदेखि देखिएको राहदानी (पासपोर्ट) पुस्तिकाको अभाव र त्यसबाट सिर्जित समस्या समाधान भएको घोषणा गरेको छ । विभागले फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँग नयाँ सम्झौता गरेसँगै अब सेवाग्राहीले भोग्दै आएको सास्ती अन्त्य हुने भएको हो ।
विभागले जारी गरेको पछिल्लो सूचना अनुसार, राहदानी छपाइ र वितरण प्रक्रियालाई पूर्ववत अवस्थामा फर्काउन र सेवालाई थप चुस्त बनाउन देहाय बमोजिमका नयाँ व्यवस्थाहरू गरिएको छ :
१. ७ लाख नयाँ राहदानी खरिद सम्झौता
विभागले लामो प्रयासपछि हालको आपूर्तिकर्ता कम्पनी IN Smart Identity France SAS (साविकको IDEMIA Identity and Security France SAS) सँग अन्तरिम अवधिका लागि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत ७ लाख थप राहदानी पुस्तिकाहरू र यसको वैयक्तीकरण (Personalization) सम्बन्धी सेवा आपूर्ति हुनेछ । सम्झौता अनुसार आगामी तीन हप्ता भित्रै राहदानीको पहिलो किस्ता नेपाल आइपुग्नेछ भने बाँकी राहदानी क्रमशः आपूर्ति हुँदै जानेछ ।
२. दैनिक कोटा प्रणाली खारेज
राहदानीको मौज्दात (Stock) कम हुँदा विभागले बाध्यात्मक रूपमा उत्पादन कटौती गरेको थियो । जसका कारण दैनिक १ हजार जनाको मात्र अनलाइन अपोइन्टमेन्ट (Appointment Slot) खुल्ने गरेको थियो । नयाँ आपूर्ति सुनिश्चित भएसँगै विभागले यो उत्पादन कटौती हटाएको छ । अब सेवाग्राहीको माग र विभागको क्षमता अनुसार दैनिक अपोइन्टमेन्ट स्लटको सङ्ख्या बढाइनेछ। यसले गर्दा अब अनलाइन फारम भर्न नपाउने समस्या धेरै हदसम्म समाधान हुनेछ ।
३. छिटो सेवाका लागि अतिरिक्त समय काम
सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न र रोकिएका कामहरूलाई गति दिन विभागले विशेष योजना बनाएको छ । उपलब्ध जनशक्तिलाई आवश्यकता अनुसार कार्यालय समय भन्दा बाहेक अतिरिक्त समय समेत काममा लगाएर राहदानी आपूर्तिलाई यथाशीघ्र सहज बनाइने विभागले जनाएको छ ।
४. राहदानी प्राप्त हुने समय सीमा
विभागले राहदानी छपाइ र वितरणका लागि नयाँ समय तालिका समेत सार्वजनिक गरेको छ :
विदेशस्थित नियोगका हकमा : विदेशबाट आवेदन दिएका नेपालीहरूको राहदानी अब साबिककै हिसाबमा १ देखि २ हप्ता भित्रमा छपाई गरी पठाइने व्यवस्था मिलाइएको छ ।
जिल्ला/इलाका प्रशासन कार्यालयका हकमा :
कात्तिक १५ गतेसम्म आवेदन दिनेहरूको राहदानी: आगामी २ हप्ता भित्र तयार हुनेछ ।
कात्तिक १५ पछि आवेदन दिनेहरूको हकमा : साबिक बमोजिम नियमित प्रक्रियाबाट क्रमशः छपाई गरी पठाइनेछ ।
राहदानी विभागले मौज्दात अभावका कारण विगत केही समय सेवाग्राहीहरूले भोग्नुपरेको सास्ती र असुविधाप्रति दुःख व्यक्त गरेको छ । यस चुनौतीपूर्ण परिस्थितिमा धैर्य गरी विभागलाई सहयोग गर्ने सम्पूर्ण सेवाग्राही तथा सरोकारवालाहरूलाई विभागले हार्दिक आभार प्रकट गरेको छ ।





