भ्रोस्वाभ — नेपाली राजदूतावास, बर्लिनको आयोजनामा पोल्याण्डको भ्रोस्वाभ शहरमा सञ्चालित राहदानी तथा कन्सुलर घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ । सन् २०२६ को जनवरी २ तारिखदेखि सुरु भएको यो शिविरमा सेवाग्राहीहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो ।
विशेषगरी राहदानी नवीकरण तथा कन्सुलरसम्बन्धी समस्या भोगिरहेका नेपाली नागरिकहरूलाई पायक पर्ने स्थानमै सेवा दिने उद्देश्यले यो शिविर आयोजना गरिएको हो । दूतावासले सुरुमा जनवरी ४ सम्म तीन दिनका लागि मात्र कार्यक्रम तय गरेको थियो । तर, शिविरमा सेवाग्राही नेपालीहरूको चाप अत्याधिक देखिएपछि र धेरैको काम बाँकी रहने अवस्था आएपछि दूतावासले १ दिन समय थप गरी जनवरी ५ सम्म सेवा प्रवाह गरेको थियो । यस चार दिने शिविरका क्रममा कुल ४ सय ९६ जना आवेदकहरूले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि आवेदन दिएका छन् भने अन्य विभिन्न कन्सुलर सेवाहरू पनि प्रदान गरिएको दूतावासले जनाएको छ ।
प्रवासमा रहेका नेपालीहरूलाई सहज सेवा दिने यो अभियानलाई सफल बनाउन स्थानीय संघ–संस्थाहरूको भूमिका पनि निकै महत्वपूर्ण रह्यो । शिविरको व्यवस्थापन र सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै राजदूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति डोनोलस्की तथा अहोरात्र खटिने स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै, वार्सास्थित नेपाली अवैतनिक वाणिज्यदूतावासले पनि कार्यक्रम सफल पार्न आवश्यक समन्वय र सहयोग पुर्याएको थियो ।
बर्लिनस्थित नेपाली राजदूतावासको कार्यक्षेत्र जर्मनीसहित पोल्याण्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) गरी १० वटा देशहरूमा फैलिएको छ । यसअघि चेक रिपब्लिकमा पनि यस्तै शिविर सञ्चालन गरेको दूतावासले पोल्याण्डको कार्यक्रम सकिएलगत्तै अब निकट भविष्यमै रोमानियामा पनि राहदानी नवीकरण घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ । यस्ता घुम्ती शिविरहरूले दूतावाससम्म पुग्न समय र खर्चको हिसाबले कठिनाइ भोगिरहेका विभिन्न देशमा कार्यरत नेपाली श्रमिक तथा विद्यार्थीहरूलाई ठूलो राहत मिलेको छ ।





