Home Login
नेपाली राजदूतावास लिस्बन

पोर्चुगलको मदेरामा नेपाली राजदूतावासद्वारा राहदानी नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने

पोर्चुगल —  पोर्चुगलस्थित नेपाली राजदूतावासले मदेरा (Madeira) मा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवाहरू प्रदान गर्न दुई दिने ‘घुम्ती शिविर’ सञ्चालन गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै राहदानीको म्याद सकिएका, बिग्रिएका वा म्याद ६ महिनाभन्दा कम बाँकी रहेका नेपाली नागरिकहरूलाई पायक पर्ने स्थानमै गएर सेवा प्रवाह गर्न लागिएको जानकारी दिएको हो ।

शिविर सञ्चालन हुने मिति र स्थान दूतावासका अनुसार उक्त घुम्ती शिविर आगामी डिसेम्बर ६ (शनिबार) र ७ (आइतबार) तारिखमा सञ्चालन हुनेछ । सेवाग्राहीले दुवै दिन बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म फुन्चालस्थित Rua Latino Coelho 56 A/B, 9060-155 मा उपस्थित भई सेवा लिन सक्नेछन्। स्थानीय स्तरमा समन्वय र सहकार्यका लागि +351-920348421 मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।

राहदानी आवेदन र अपोइन्टमेन्ट प्रक्रिया शिविरमा सहभागी हुन चाहने सेवाग्राहीले अनिवार्य रूपमा अनलाइन अपोइन्टमेन्ट लिनुपर्नेछ । यसका लागि डिसेम्बर ३, २०२५ साँझ ५ बजेदेखि बुकिङ खुला गरिनेछ । राहदानी विभागको वेबसाइटमा गएर ‘Appointment Country’ मा ‘Other’ र ‘Enrollment Centre’ मा ‘NE Lisbon’ छनोट गरी फारम भर्नुपर्नेछ । यो अपोइन्टमेन्ट विशेष गरी मदेराको शिविरका लागि मात्र मान्य हुने र लिस्बनस्थित दूतावासमा यसले काम नगर्ने कुरा दूतावासले स्पष्ट पारेको छ ।

अनलाइन फारम भरिसकेपछि प्राप्त भएको बारकोडसहितको पीडीएफ (PDF) फाइल भेरिफिकेसनका लागि डिसेम्बर ४ भित्रै दूतावासको इमेल eonlisbon1@gmail.com मा पठाउनुपर्नेछ । तोकिएको समयभित्र इमेल नपठाएमा शिविरबाट सेवा प्राप्त गर्न नसकिने कडा नियम बनाइएको छ ।

तयार राहदानी वितरण र नयाँ आवेदन यसअघि नै राहदानीका लागि आवेदन दिइसकेका मदेराका आवेदकहरूले पनि यही शिविरबाट आफ्नो तयार भएको राहदानी लिन सक्नेछन् । तर, यसका लागि उनीहरूले दूतावासमा फोन गरेर पहिले नै आफ्नो नाम टिपाउनुपर्नेछ । नयाँ राहदानी वा नवीकरणका लागि आउँदा नागरिकताको सक्कल र प्रतिलिपि, हालको राहदानी, र नाबालिगको हकमा नाबालिक परिचयपत्र साथमा ल्याउनुपर्नेछ । पोर्चुगलमै जन्मेका बालबालिकाको हकमा भने स्थानीय जन्मदर्ताको प्रमाणपत्र र आमाबुबाको कागजात आवश्यक पर्नेछ ।

सेवा शुल्क र भुक्तानी प्रक्रिया दूतावासले नगद कारोबार नहुने जनाउँदै सेवा शुल्क बापतको रकम बैंकमा जम्मा गरेर भौचर पेस गर्नुपर्ने जनाएको छ । नयाँ राहदानी वा नवीकरणका लागि १२० युरो, हराएको वा च्यातिएको राहदानीको सट्टामा १८० युरो र १० वर्षमुनिका बालबालिकाको हकमा ६० युरो शुल्क तोकिएको छ । त्यस्तै, प्रहरी चारित्रिक प्रमाणपत्र (Police Report) प्रमाणीकरणका लागि १०० युरो, पारिवारिक कागजातका लागि ५० युरो र शैक्षिक प्रमाणपत्रका लागि १५ युरो शुल्क लाग्नेछ। कागजात प्रमाणीकरणका लागि नेपालको परराष्ट्र मन्त्रालयबाट ‘लिगलाईजेसन’ भएको हुनु अनिवार्य छ ।

सेवाग्राहीले आफूलाई आवश्यक पर्ने सेवाको कुल रकम Millennium BCP Bank मा रहेको दूतावासको खाता नम्बर PT50003300004578535819505 मा जम्मा गरी सोको प्रमाण eonlisbon@gmail.com मा पठाउनुपर्नेछ ।

अधिकृत वारेसनामाका लागि भने सेवाग्राही स्वयं उपस्थित भई तोकिएको ढाँचामा निवेदन, दुई प्रति फोटो र साक्षीहरूको विवरण पेस गर्नुपर्नेछ । सामान्य वारेसनामाको लागि ५ युरो र सम्पत्ति हक हस्तान्तरण सम्बन्धी वारेसनामाका लागि ४० युरो शुल्क लाग्नेछ ।

दूतावासले सेवा प्रवाहलाई प्रभावकारी बनाउन र कुनै द्विविधा भएमा दूतावासको वेबसाइट हेर्न वा कार्यालय समयमा फोन सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply