लिस्बन (पोर्चुगल) — संयुक्त राष्ट्रसंघको घोषणालाई आत्मसाथ गर्दै पोर्चुगलस्थित नेपाली राजदूतावासले दोस्रो ‘विश्व ध्यान दिवस’ मनाएको छ । ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ भन्ने मूल नाराका साथ आज (डिसेम्बर २१) दूतावासको सभाहलमा विशेष ध्यान शिविरको आयोजना गरी यो दिवस मनाइएको हो ।
संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई मानव स्वास्थ्यका लागि एक पूरक र अपरिहार्य उपायका रूपमा स्वीकार गर्दै गत वर्षको डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरेको थियो । सोही प्रस्ताव अनुसार डिसेम्बर २१ लाई आधिकारिक रूपमा ‘विश्व ध्यान दिवस’ को मान्यता दिइएको हो । यसै सन्दर्भमा नेपाल सरकारले विदेशस्थित आफ्ना सबै कूटनीतिक नियोगहरूमा ध्यान शिविर सञ्चालन गर्न निर्देशन दिएबमोजिम लिस्बनस्थित नेपाली दूतावासले पनि यो कार्यक्रमको आयोजना गरेको हो ।
दूतावासको सभाहलमा आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा बसोबास गरिरहेका विभिन्न नेपाली व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षकद्वय लब्लीप्रसाद शर्मा र बिजेन्द्र लामाले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले उपस्थित सहभागीहरूलाई ध्यान र योगका विभिन्न विधिहरूबारे व्यावहारिक प्रशिक्षण दिनुका साथै यसका विविध आयाम र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले परापूर्वकालदेखि नै ध्यान र योगको उद्गम तथा विकासमा नेपालले पुर्याएको योगदानको चर्चा गर्नुभयो । उहाँले विश्व जगत्मा नेपालको विशिष्ट पहिचान नै योग र आध्यात्मिकतासँग जोडिएको बताउँदै, संयुक्त राष्ट्रसंघको आह्वानमा दूतावासले यस्ता कार्यक्रम आयोजना गर्नु आफैँमा उत्साहजनक रहेको धारणा राख्नुभयो । राजदूत पौडेलले यस किसिमको ध्यान शिविरले पोर्चुगलमा समेत नेपालको रैथाने ज्ञान, ध्यान र योगको प्रचारप्रसार तथा प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले यो अभियानलाई एक दिनमा मात्र सीमित नराखी निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । सहभागीहरू बिच यस्तो किसिमको ध्यान र योग शिविर कम्तीमा हप्ताको एकपटक सञ्चालन गर्ने प्रस्ताव समेत गरिएको छ ।
विशेष गरी परदेशमा रहेका नेपाली समुदायमा देखिने तनाव, मानसिक समस्या र विभिन्न अप्रिय घटनाहरूलाई न्यूनीकरण गर्न ध्यान अपरिहार्य रहेको निष्कर्ष सहभागीहरूको थियो । उहाँहरूले यो अभियानलाई दूतावासको हलबाट बाहिर निकालेर आम नेपाली समुदायको माझमा कसरी पुर्याउने भन्ने विषयमा गम्भीर छलफल गर्नुभएको थियो । समुदायमा सकारात्मक सोचको विकास गर्न र मानसिक स्वास्थ्य सबल बनाउन यस्ता क्रियाकलापहरू तत्काल विस्तार गर्नु आवश्यक रहेको कुरामा उपस्थित सबैले एकमत जाहेर गरेका थिए ।
यो कार्यक्रमले पोर्चुगलमा रहेका नेपालीहरू बिच भावनात्मक एकता बढाउनुका साथै स्वास्थ्य र सचेतनाको क्षेत्रमा नयाँ आयाम थपेको महसुस गरिएको छ ।





