जसमान दर्नाल, जिवन (क्रोएसिया) — युरोपेली श्रम बजारमा पछिल्लो समय आकर्षक गन्तव्य बनिरहेको क्रोएसियाले विदेशी कामदार र उनीहरूलाई रोजगारी दिने कम्पनीहरूमाथि कडा निगरानी सुरु गरेको छ । आफ्नो देशको श्रम बजारलाई व्यवस्थित, न्यायोचित र स्थायी बनाउने उद्देश्यसहित क्रोएसिया सरकारले विदेशी कामदारसम्बन्धी नियमहरूमा व्यापक कडाइ गरेको हो । विशेष गरी अवैध रूपमा हुने कामलाई निरुत्साहित गर्न र कानुनी दायरालाई बलियो बनाउन सरकारले नयाँ नीतिहरू अख्तियार गरेको छ ।
सरकारले ल्याएको पछिल्लो परिवर्तनको मुख्य केन्द्रबिन्दु काम र बसोबास अनुमति (वर्क एण्ड रेसिडेन्सी पर्मिट) को प्रक्रिया हो । अब विदेशी कामदारका लागि अनुमति पत्र लिने प्रक्रियालाई पहिलेको तुलनामा निकै जटिल र कडा बनाइएको छ । सरकारी अधिकारीहरूले कागजी प्रक्रियालाई मात्र आधार नमानी रोजगारदाता कम्पनी र कामदार स्वयम्को नियमित अनुगमन (इन्स्पेक्सन) लाई तीव्र पारेका छन् । यस नीतिअन्तर्गत सरकारले नयाँ कामदार भित्राउनुभन्दा पहिले नै कार्यरत कामदारहरूको अनुमति नवीकरण (एक्स्टेन्सन) लाई बढी प्राथमिकता दिएको देखिन्छ, जसले अल्पकालीन भन्दा दीर्घकालीन बसोबास र कामको स्थायित्वलाई प्रोत्साहन गर्न खोजेको प्रस्ट हुन्छ ।
श्रम अनुमतिसँगै स्वास्थ्य मापदण्डमा पनि उल्लेख्य परिवर्तन गरिएको छ। अब नेपालजस्ता युरोपेली संघ (ईयु) बाहिरका मुलुकबाट पहिलो पटक क्रोएसिया जाने कामदारहरूले अनिवार्य रूपमा कडा स्वास्थ्य परीक्षण प्रक्रिया पूरा गर्नुपर्नेछ । सार्वजनिक स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्ने सरकारी उद्देश्य अनुरुप, कामदारहरूले ९० दिनभन्दा पुरानो नहुने गरी स्वास्थ्य प्रमाणपत्र र तोकिएको खोप लगाएको प्रमाण पेस गर्नुपर्नेछ । यो नियमले विदेशी कामदारको स्वास्थ्य स्थितिलाई मात्र नभई क्रोएसियाको जनस्वास्थ्य सुरक्षालाई पनि बलियो बनाउने सरकारी निकायले जनाएको छ ।
कामदारहरूलाई क्रोएसियाली समाजमा घुलमिल गराउन र दीर्घकालीन रूपमा स्थापित गराउन भाषालाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ । सरकारले विदेशी कामदारहरूलाई क्रोएसियाली भाषा सिक्न प्रोत्साहन मात्र गरेको छैन, युरोपेली संघको सहयोगमा निःशुल्क भाषा कक्षाहरू समेत सञ्चालनमा ल्याएको छ । अझ महत्वपूर्ण कुरा, भविष्यमा काम र बसोबास अनुमति नवीकरण गर्नका लागि विदेशी कामदारले कम्तीमा ‘ए वान’ (A1) स्तरको भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने नियम अनिवार्य गराउने गरी सरकारी नियम निर्माण भइसकेको छ । यसले कामदारहरूलाई कार्यस्थलमा मात्र नभई सामाजिक जीवनमा पनि सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सन् २०२५ को नोभेम्बर अन्त्यसम्मको तथ्याङ्कलाई हेर्दा क्रोएसियामा विदेशी कामदारको चाप र निर्भरता स्पष्ट देखिन्छ । यस वर्ष मात्र १ लाख ६० हजारभन्दा बढी विदेशी कामदारलाई काम तथा बसोबास अनुमति जारी गरिएको छ । जारी गरिएका अनुमतिहरूमध्ये नयाँ रोजगारीका लागि करिब ७६ हजार ७ सय, अनुमति नवीकरणका लागि करिब ६४ हजार र मौसमी कामका लागि करिब १९ हजार ४ सय रहेका छन् ।
भौगोलिक रूपमा हेर्दा विदेशी कामदारहरूको सबैभन्दा ठूलो हिस्सा राजधानी जाग्रेबमा केन्द्रित छ, जहाँ करिब ४० हजार कामदारले अनुमति पाएका छन् । त्यसपछि पर्यटकीय सहर इस्ट्रियामा २२ हजारभन्दा बढी र स्प्लिट-डालमेटिया क्षेत्रमा १६ हजारभन्दा बढी कामदार कार्यरत छन् । विशेष गरी पर्यटन, निर्माण र सेवा क्षेत्रको बाहुल्यता रहेका यी सहरहरूमा विदेशी कामदारको माग उच्च रहेको तथ्याङ्कले देखाएको छ ।
क्रोएसियाको यो नयाँ र कडा नीतिले अब त्यहाँ जान चाहने वा कार्यरत विदेशी कामदारहरूले आफ्नो योग्यता, स्वास्थ्य र भाषागत क्षमतामा विशेष ध्यान पुर्याउनुपर्ने सन्देश दिएको छ ।





