साइप्रस — नागरिक बोलीले पहिलो पटक साइप्रसमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरेको अनलाइन गायन प्रतियोगिता ‘साइप्रस नेपाली भ्वाइस’ अब आफ्नो अन्तिम तथा निर्णायक चरणमा प्रवेश गरेको छ । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतलाई माया गर्ने प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले सञ्चालित यस प्रतियोगिताको फाइनलमा मिङ्गमार दोर्जे लामा प्रवेश गर्न सफल भएका छन् ।
विगत लामो समयदेखि सांगीतिक यात्रामा निरन्तर लागिरहेका लामा पछिल्लो तीन वर्षदेखि युरोपेली मुलुक साइप्रसलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् ।
परदेशको व्यस्त जीवनशैलीका बाबजुद पनि उनले आफ्नो सांगीतिक भोकलाई मर्न दिएका छैनन् । साइप्रसमा आयोजना हुने विभिन्न सांगीतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आफ्नो जादुमयी स्वर पस्कँदै आएका दोर्जेले आफ्नै आवाजमा ‘माफी चाहन्छु’ बोलको गीत समेत बजारमा ल्याइसकेका छन् ।
प्रतियोगिताको सुरुवाती चरणमा कुल ३० जना प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए । पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालित यस प्रतियोगितामा प्रतियोगीहरूको प्रस्तुति (भिडियो) प्रशारण भएपछि प्राप्त भएको लाइक, कमेन्ट, सेयर, रिपोस्ट र भ्युजको आधारमा नतिजा निर्धारण गरिएको थियो । सोही मापदण्डका आधारमा सुरुवाती चरणबाट उत्कृष्ट १० (टप १०) र त्यसपछि उत्कृष्ट ५ (टप ५) को छनोट गरिएको हो । यही कडा प्रतिस्पर्धा र दर्शकको माया बटुल्दै मिङ्गमार दोर्जे लामा फाइनलका लागि छानिएका हुन् ।
आयोजक नागरिक बोलीका अनुसार अब फाइनल राउण्डमा प्रवेश गरेका उत्कृष्ट ५ जना प्रतिस्पर्धीहरू बीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ । फाइनलको नतिजा ५० प्रतिशत सामाजिक सञ्जालको ‘इन्गेजमेन्ट’ (सर्वाधिक लाइक, कमेन्ट, सेयर, रिपोस्ट र भ्युज) र बाँकी ५० प्रतिशत निर्णायकहरूको मतका आधारमा घोषणा गरिनेछ । यसरी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिभाहरूको टुङ्गो लाग्नेछ ।
प्रतियोगिताको गरिमा बढाउन र निष्पक्ष निर्णयका लागि निर्णायक मण्डल (जज) का रूपमा चर्चित गायक तथा संगीतकर्मीहरू तुलसी शिवाकोटी, सहिमा श्रेष्ठ र धिरज राई रहेका छन् ।
प्रतियोगिताको अन्तिम चरणमा पुगेका मिङ्गमार दोर्जे लामा निकै उत्साहित देखिएका छन् । उनले आफ्नो लामो सांगीतिक लगावलाई सार्थकता दिन र यस प्रतियोगिताको विजेता बन्नका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सहयोगको अपिल गरेका छन् । उनले आफूले गाएको गीतका भिडियोहरूलाई हेरेर अत्यधिक सेयर, लाइक र कमेन्ट गरिदिन आग्रह गरेका छन् ।






