लिस्बन (पोर्चुगल) — तमु समाज पोर्चुगलको मुख्य आयोजनामा युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा ‘तमु ल्होछार–२०८२’ भव्यताका साथ मनाइने भएको छ । गुरुङ समुदायको महान् पर्व तथा नयाँ वर्षको अवसर पारेर समाजले आगामी जनवरी ४ तारिख (आइतबार) का दिन एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो ।
प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । आयोजकका अनुसार यस कार्यक्रममा तमु समुदायको मौलिक पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुतिहरू, परम्परागत भेषभुषाको प्रदर्शन, लोक गीत–संगीत तथा नृत्यहरू प्रस्तुत गरिनेछ । यो अवसरलाई पोर्चुगलमा रहेका नेपालीहरूबीच आपसी शुभकामना आदानप्रदान गर्ने र सामूहिक भेटघाटको माध्यमका रूपमा लिइएको छ । तमु समाज पोर्चुगलले यस गरिमामय कार्यक्रममा सहभागी भई हौसला बढाइदिन सम्पूर्ण तमु तथा गैर–तमु नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा गरेको छ ।
कार्यक्रमलाई उल्लासमय बनाउन नेपालका ख्यातिप्राप्त कलाकारहरूको विशेष उपस्थिति रहनेछ । सांगीतिक माहोल तताउनका लागि चर्चित गायिका सोनु गुरुङ, ‘कौडा किङ’ का रूपमा परिचित गायक दुर्गा गुरुङ, गायक वीरेन्द्र गुरुङ तथा गायक लाहुरे कान्छाले आफ्नो बेजोड प्रस्तुति दिनेछन् । यी चर्चित कलाकारहरूको गीत र संगीतले उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।
यो विशेष सांस्कृतिक उत्सव लिस्बनस्थित ‘स्पोर्ट लिस्बोआ ई ओलिभाइस’ को फुटबल कभर्ड हल (भित्री रङ्गशाला) मा आयोजना हुनेछ । कार्यक्रम दिउँसो ठिक २ बजेदेखि सुरु हुने तालिका रहेको छ । कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि आयोजकले प्रतिव्यक्ति २० युरो प्रवेश शुल्क निर्धारण गरेको छ ।






