लिस्बन (पोर्चुगल) — शनिबारको अपराह्न जब लिस्बन विमानस्थलमा १५ जना युक्रेनी आमा र १८ जना बालबालिकाहरूको समूह अवतरण भयो, त्यहाँको वातावरणमा एक किसिमको मिश्रित भाव थियो । लामो युद्धको थकान र नयाँ ठाउँको राहत उनीहरूको अनुहारमा स्पष्ट देखिन्थ्यो । रुससँगको जारी युद्धमा आफ्ना पति, बुबा वा आफन्त गुमाएका वा बेपत्ता भएका यी परिवारहरू तीन साताका लागि युद्धको विभीषिकाबाट टाढा, पोर्चुगलको शान्त वातावरणमा ‘सामान्यताको अनुभव’ सँगाल्न आइपुगेका हुन् ।
यो मानवीय पहल युक्रेनलाई सघाउँदै आएको संस्था ‘हेल्पयूए.पीटी’ (HelpUA.PT – युक्रेनी शरणार्थी UAPT) को अगुवाइमा भएको हो । यस कार्यक्रमलाई पोर्चुगल सरकारले एक “उल्लेखनीय नागरिक समाज पहल” को रूपमा उच्च प्रशंसा गरेको छ । यसको मुख्य उद्देश्य युद्धको आघात बोकेका परिवारहरूलाई गहन मनोवैज्ञानिक पुनर्वास, सांस्कृतिक एकीकरण र व्यक्तिगत प्रशिक्षण प्रदान गर्नु हो । आगामी तीन हप्तासम्म उनीहरूले पोर्चुगिज र युक्रेनी मनोवैज्ञानिक, चिकित्सक र स्वयंसेवकहरूको प्रत्यक्ष निगरानी र सहयोगमा समय बिताउनेछन् ।
यो समूहको यात्रा सहज थिएन । पाँच देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरू सम्मिलित यो टोली उत्तरी युक्रेनको चेर्निहिभस्का क्षेत्रबाट आएको हो । यो क्षेत्र रुसको सिमाना नजिक पर्छ र द्वन्द्वको सबैभन्दा सक्रिय अग्रपंक्तिहरू मध्ये एक मानिन्छ ।
हेल्पयूए.पीटीका उपाध्यक्ष एन्जेलो नेटोका अनुसार, उनीहरूले बसबाट २० घण्टाको जोखिमपूर्ण यात्रा तय गर्नुपरेको थियो । युक्रेनी सैन्य प्रहरीले बन्द सडकहरू खुलाउँदै र सुरक्षा प्रदान गर्दै उनीहरूलाई पोल्याण्डको सिमानासम्म पुर्याएको थियो, जहाँबाट उनीहरू वार्सा हुँदै लिस्बन उडेका थिए ।
विमानस्थलमा स्वागतका लागि पुगेकी पोर्चुगलकी न्यायमन्त्री रीता जुडिसले यस पहलको मर्मबारे बोल्दै भनिन्, “हामी चाहन्छौं कि यी बालबालिकाहरूले यहाँ रहँदा शान्तिको अनुभव गर्न सकून् ।” उनले भावुक हुँदै थपिन् कि ६ देखि १४ वर्षका धेरै बालबालिकासँग युद्धबाहेकका अन्य सम्झनाहरू विरलै छन् ।
त्यसैले, उनीहरूलाई फेरि बच्चा हुन दिनु र आमाहरूलाई केवल आमा वा हजुरआमाको भूमिकामा फर्कने अवसर दिनु नै पोर्चुगलले गर्न सक्ने सबैभन्दा ठूलो सहयोग हो । मन्त्री जुडिसले न्याय अदालतको पर्खालभित्र मात्र सीमित नहुने बताउँदै मानव अधिकारको रक्षा र बालबालिकाविरुद्धको हिंसा सामान्यीकरण हुन नदिनु पनि न्यायको एक अभिन्न अङ्ग भएकोमा जोड दिइन् । यस समूहसँगै युक्रेनबाट यात्रा गरेकी पूर्व सांसद तथा संस्थाकी राजदूत टेरेसा लील कोएल्होले युक्रेनी जनताको लचिलोपनको प्रशंसा गरिन् । “उनीहरूको रगतमै बहादुरी बग्छ,” उनले भनिन्। उनका अनुसार, युद्धले तहसनहस पारेका सहरहरू र बंकरहरूमा रात बिताउनुपर्ने बाध्यताका बाबजुद पनि यी परिवारहरू आफ्नो थातथलो छोड्न चाहँदैनन् । पोर्चुगलको यो बसाई उनीहरूका लागि एक अल्पकालीन विश्राम मात्र हो । युक्रेनी रक्षा मन्त्रालयले युद्धबाट अति प्रभावित क्षेत्रहरूबाट छनोट गरेको यो समूह तीन साताको पुनर्ताजगीपछि पुन: आफ्नै देश फर्कनेछ । कोएल्होले विगतका अनुभवहरू सुनाउँदै भनिन् कि शरणार्थीहरू सुरक्षित स्थानमा भए पनि आफ्ना पति र बुबाहरूसँग रहन र देशको रक्षामा सहभागी हुन फर्कन चाहन्छन् ।
अबको तीन हप्ता यो समूह ओरेमस्थित ‘फेनिक्स केन्द्र’ मा रहनेछ । यो त्यही केन्द्र हो जहाँ २०२४ मा युद्धमा घाइते भएका लडाकुहरूको समूहलाई पुनर्स्थापनाका लागि राखिएको थियो । हेल्पयूए.पीटीका उपाध्यक्ष एन्जेलो नेटोले यस परियोजनालाई अझ विस्तार गर्ने लक्ष्य राखेका छन् । बेलायतले २०२५ मा ४ सय परिवारलाई यस्तै सुविधा दिएको उदाहरण दिँदै उनले पोर्चुगलले भविष्यमा ५ सय भन्दा बढी युक्रेनी परिवारलाई आतिथ्यता प्रदान गर्ने आशा व्यक्त गरे ।
बमबारी र साइरनको आवाजबाट टाढा, पोर्चुगलको यो बसाईले यी पीडित परिवारहरूको घाउमा केही हदसम्म मलम लगाउने र उनीहरूलाई जीवनप्रति नयाँ आशा र ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ ।





