लिस्बन (पोर्चुगल) — नेपाली सांगीतिक क्षेत्रका पछिल्लो समयका सर्वाधिक लोकप्रिय एवं युवा पुस्ताका ढुकढुकी बन्न सफल गायक सुजन चापागाईं आफ्नो सांगीतिक ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित युरोप भ्रमणमा आउने भएका छन् । प्रवासमा रहेका नेपाली संगीत प्रेमीहरूलाई लक्षित गर्दै सन् २०२६ मा आयोजना हुन लागेको ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ अन्तर्गत गायक चापागाईंले पोर्चुगलको राजधानी लिस्बनमा आफ्नो बेजोड प्रस्तुति दिने भएको हो ।
नेपाली कला र संगीतको माध्यमबाट सात समुद्र पार रहेका नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्ने र मातृभूमिको सुगन्धसँग जोड्ने उद्देश्यका साथ यो बृहत् सांगीतिक टुर तय गरिएको हो ।
युरोप भ्रमणका लागि गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र मामा इभेन्ट्सले संयुक्त रूपमा आयोजनाको जिम्मा लिएका छन् भने केन्द्र मोशन पिक्चर्सले यस यात्रालाई मुख्य सहयोगीको रूपमा साथ दिएको छ । विशेषगरी पोर्चुगलको कार्यक्रमका लागि भने गुरुङ केएनएस ईन्टरटेन्मेन्ट, केन्द्र मोशन पिक्चर्स र नेल्स इन्टरटेन्मेन्टले त्रिपक्षीय सहकार्य गर्दै कार्यक्रमलाई भव्य बनाउने तयारी गरेका छन् ।
लिस्बनस्थित चर्चित सांगीतिक स्थल ‘लिस्बोआ आओ भिभो’ मा आगामी मार्च २ तारिखका दिन यो सांगीतिक उत्सव आयोजना हुनेछ । राति १० बजेदेखि सुरु हुने उक्त कार्यक्रमका लागि आयोजकले चार विभिन्न श्रेणीका टिकट दरहरू सार्वजनिक गरेका छन् । जसअनुसार अति विशिष्ट (भीभीआईपी) श्रेणीको टिकटका लागि १५० युरो, विशिष्ट (भीआईपी) श्रेणीका लागि ७५ युरो, अग्रिम भाग (फ्रन्ट जोन) का लागि ४० युरो र पछिल्लो भाग (ब्याक जोन) का लागि ३० युरो शुल्क तोकिएको छ ।
गायक सुजन चापागाईंको यो युरोप भ्रमण फेब्रुअरी १४ मा फिनल्याण्डको हेलसिंकीबाट सुरु हुनेछ । त्यसपछि उनले फेब्रुअरी १६ मा बेल्जियमको एन्टवर्प, फेब्रुअरी १८ मा फ्रान्सको पेरिस, फेब्रुअरी २० मा जर्मनीको बर्लिन, फेब्रुअरी २७ मा डेनमार्कको कोपेनहेगनमा आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन् ।
पोर्चुगलको लिस्बनमा मार्च २ मा प्रस्तुति दिएपछि उनले मार्च ७ मा माल्टा पुगेर यो सांगीतिक यात्राको समापन गर्ने तालिका रहेको छ ।
यो सांगीतिक भ्रमणले युरोपमा रहेका नेपालीहरूलाई आफ्नो कला र संस्कृतिसँग पुन: जोड्ने विश्वास गरिएको छ । सुजन चापागाईंका ‘तिनपाते’, ‘बाफ’, ‘गालापुक्क’ जस्ता दर्जनौँ चर्चित गीतहरू प्रत्यक्ष सुन्न पाउने भएपछि पोर्चुगलवासी नेपालीहरूमा अहिलेदेखि नै ठूलो उत्साह देखिएको छ ।
आयोजकहरूले यो टुर युरोपमा रहेका नेपालीहरूका लागि एक ऐतिहासिक सांगीतिक उत्सव बन्ने दाबी गरेका छन् ।






