बुकारेस्ट (रोमानिया) — युरोपेली श्रम बजारमा नेपालीलगायत विदेशी कामदारहरूको आकर्षक गन्तव्य मानिने रोमानियाले आगामी वर्षका लागि आफ्नो आप्रवासन नीतिमा कडाइ गरेको छ । रोमानियाली सरकारले सन् २०२६ का लागि युरोपियन युनियन (ईयु) बाहिरका मुलुकबाट आउने नागरिकहरूलाई प्रदान गरिने ‘वर्क परमिट’ को सङ्ख्यामा कटौती गर्ने निर्णय गरेको हो । यो नयाँ निर्णयसँगै अब सन् २०२६ मा केवल ९० हजार विदेशी कामदारले मात्र रोमानिया प्रवेश गर्ने अनुमति पाउनेछन् ।
सरकारको यो कदम अघिल्लो वर्षको तुलनामा कडा देखिएको छ। सन् २०२५ का लागि रोमानियाले १ लाख विदेशी कामदार भित्र्याउने कोटा निर्धारण गरेको थियो, जसलाई २०२६ का लागि १० हजारले घटाएर ९० हजारमा सीमित गरिएको छ । निर्माण र आतिथ्य जस्ता क्षेत्रमा कामदारको चरम अभाव कायमै रहेको समयमा सरकारले कोटा घटाउने निर्णय लिएपछि त्यहाँको व्यावसायिक क्षेत्र तरङ्गित भएको छ ।
रोमानियाली अधिकारीहरूले भने यो निर्णयलाई श्रम बजारको दीर्घकालीन व्यवस्थापन र प्रशासनिक सुधारको हिस्साका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार देशको आन्तरिक श्रम बजारमा सन्तुलन कायम राख्न र विदेशी कामदारहरूको व्यवस्थापनलाई चुस्त बनाउन यो कदम चालिएको हो । तर, रोजगारदाता र व्यवसायीहरूले भने सरकारको यो तर्कसँग असहमति जनाउँदै चिन्ता व्यक्त गरेका छन् । विशेषगरी होटल, रेस्टुरेन्ट, पर्यटन तथा ठूला निर्माण परियोजनाहरू विदेशी कामदारमै निर्भर रहनुपरेको अवस्थामा कोटा कटौतीले समस्या अझ विकराल बनाउन सक्ने उनीहरूको भनाइ छ ।
यो निर्णयको प्रत्यक्ष असर नेपाल, भारत, बङ्गलादेशसहित विभिन्न एसियाली र अफ्रिकी मुलुकका रोजगारीका आकांक्षीहरूमा पर्ने निश्चित देखिएको छ । कोटा घटेसँगै अब रोमानियाको भिसा र वर्क परमिट प्राप्त गर्ने प्रक्रियामा प्रतिस्पर्धा तीव्र हुनेछ । मागको तुलनामा आपूर्ति कम हुने भएकाले अब आवेदन प्रक्रियामा थप कडाइ गरिने र छनोट प्रक्रिया पनि जटिल हुन सक्ने अनुमान गरिएको छ । रोजगारीको खोजीमा युरोप छिर्न चाहने हजारौँ युवाहरूका लागि यो निर्णयले नयाँ चुनौती खडा गरिदिएको छ ।





