Home Login
प्रवास

पोर्चुगलमा ‘डिप्रेसन लियोनार्डो’ र ‘आँधी क्रिस्टिन’ को दोहोरो मार

पोर्चुगल (लिस्बन) पोर्चुगलले यतिबेला प्राकृतिक विपत्तिको गम्भीर सामना गरिरहेको छ । एक हप्ताअघि आएको ‘आँधी क्रिस्टिन’ को विध्वंसबाट तंग्रिन नपाउँदै, अहिले ‘डिप्रेसन लियोनार्डो’ ले देशको मुख्य भूभागमा अर्को संकट निम्त्याएको छ । निरन्तरको वर्षा, बाढी र तीव्र हावाहुरीका कारण जनजीवन कष्टकर बनेको छ भने ऐतिहासिक सम्पदादेखि आधुनिक पूर्वाधारसम्ममा ठूलो क्षति पुगेको छ ।

मौसमको यो मार सबैभन्दा बढी नागरिकको स्वास्थ्य र सुरक्षामा परेको देखिन्छ । लेइरियाको सान्तो एन्ड्रे अस्पतालले आँधी सुरु भएदेखि हालसम्म ७५६ जना घाइतेहरूको उपचार गरेको जनाएको छ । चिकित्सक संघका प्रमुख कार्लोस कोर्टेसका अनुसार, अस्पतालमा आएका बिरामीहरूमध्ये ७८ प्रतिशतलाई ‘यल्लो’ र ‘रेन्ज’ कोड अन्तर्गत गम्भीर आपतकालीन अवस्थामा वर्गीकृत गरिएको थियो । अस्पतालले अत्यधिक चापका बाबजुद अधिकांश केसहरू आफैं समाधान गरेको छ भने २२ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पश्चिम क्षेत्र, कोइम्ब्रा र फिगुइरा दा फोजका अस्पतालहरूमा रेफर गरिएको छ ।

नागरिक सुरक्षा संयन्त्र यतिबेला उच्च सतर्कतामा छ । मंगलबार मध्यरातदेखि बुधबार बिहानसम्म मात्रै झण्डै १,००० को हाराहारीमा घटनाहरू रेकर्ड गरिएका छन् । मंगलबार दिनभर ८३३ वटा घटना दर्ता भए भने बुधबार बिहान ७ बजेसम्म थप १२१ घटना थपिएका छन् । यी घटनाहरूमा मुख्यतया रूखहरू ढल्ने, संरचनाहरू भत्किने र बाढी पस्ने समस्याहरू समावेश छन् ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा लिस्बन र सेतुबल प्रायद्वीप रहेका छन् । ओइरासमा रहेको ‘रिबेरा दा लाजे’ खोलामा आएको बाढीले किनार नाघ्दा सान्तो अमारो डे ओइरास क्षेत्र जलमग्न भएको छ । स्थानीय अग्नि नियन्त्रकहरूले फेसबुकमार्फत चेतावनी जारी गर्दै यातायातमा गम्भीर अवरोध सिर्जना भएको जानकारी दिएका छन् । उता ग्रान्डोलामा पनि भारी वर्षाका कारण सहरी क्षेत्र र आवासीय घरहरूमा बाढी पसेको छ ।

अधिकारीहरूका अनुसार आँधीबेहरीका कारण ढल निकास प्रणालीले पानीको बहाव थेग्न नसक्दा सडकहरू खोलामा परिणत भएका छन् ।

आँधी क्रिस्टिनले एक हप्ताअघि पुर्‍याएको क्षति अझै मर्मत हुन सकेको छैन । ई-रेड्स कम्पनीका अनुसार बुधबार बिहान ८ बजेसम्म पनि करिब ९३,००० ग्राहकहरू अन्धकारमा बस्न बाध्य छन् । विद्युत वितरण नेटवर्कमा भएको क्षतिका कारण यो समस्या लम्बिएको हो ।

यसैगरी, सञ्चार सेवामा पनि गम्भीर अवरोध आएको छ । कास्टेलो ब्रान्को जिल्लाका धेरै नगरपालिकाहरू, विशेष गरी ओलेइरोस नगरपालिकाको ७० प्रतिशत भन्दा बढी भागमा मोबाइल नेटवर्क अवरुद्ध वा अस्थिर अवस्थामा रहेको छ ।

खराब मौसमको प्रत्यक्ष असर यातायात क्षेत्रमा परेको छ । सीपी (पोर्चुगिज रेलवे) का अनुसार वर्षाले ट्र्याकहरूमा अस्थिरता निम्त्याएपछि सेतुबल जिल्लाको अजिन्हेरा डोस बारोस र ग्रान्डोला बीचको दक्षिणी लाइनमा रेल सेवा पूर्ण रूपमा बन्द गरिएको छ । यसका साथै डोउरो लाइन (रेगुआ र पोसिन्हो बीच) र पश्चिमी लाइनमा पनि रेल सेवाहरू निलम्बन गरिएका छन् ।

एलेन्तेजो तटीय क्षेत्रमा ढलेका रूखहरूले सडक अवरुद्ध पारेका छन्, यद्यपि नागरिक सुरक्षाले कुनै पनि गाउँ पूर्ण रूपमा सम्पर्कविच्छेद भने नभएको जनाएको छ विपद्को समयमा सुरक्षा चुनौती पनि थपिएको छ । बटाल्हा नगरपालिकामा विद्युत नहुँदा जेनेरेटरहरू र डिजेल इन्धन चोरी हुने घटना बढेका छन् । यसको सामना गर्न स्थानीय बासिन्दाहरूले आफैं सुरक्षाको जिम्मा लिएका छन् । बासिन्दाहरूले रिफ्लेक्टिभ भेस्ट लगाएर, भेष बदलेर लगातार दुई रातसम्म गस्ती गरी संदिग्ध व्यक्तिहरूको पहिचान गर्दै प्रहरीलाई सूचना दिएका छन् । यो घटनाले विपद्को समयमा समुदायको एकता र सुरक्षा चुनौतीलाई उजागर गरेको छ ।

यस पटकको मौसमले पोर्चुगलको इतिहासलाई पनि छोडेको छैन । ५० भन्दा बढी स्मारकहरूमा क्षति पुगेको छ। तोमारस्थित ‘चारोलिन्हा दा माता डोस सेटे मोन्टेस’ पूर्ण रूपमा नष्ट भएको छ भने विश्व सम्पदा सूचीमा रहेको ‘क्राइस्टको कन्भेन्ट’ मा व्यापक क्षति पुगेको छ ।

उता खेलकुद क्षेत्र पनि प्रभावित भएको छ । लेइरिया फुटबल संघले १२ तारिखसम्मका सबै खेलहरू स्थगित गरेको छ। यद्यपि, कोइम्ब्रामा भने पुराना खेलहरू पुन: सुरु गर्ने तयारी भइरहेको छ ।

आगामी दिनहरूको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै अधिकारीहरूले थप सावधानी अपनाएका छन् । लेइरियाको एक हेरचाह केन्द्रबाट ३० जना वृद्धवृद्धालाई सुरक्षित स्थानमा सारिएको छ । आँधी क्रिस्टिनले भवनमा क्षति पुर्‍याएको र भविष्यमा थप जोखिम हुन सक्ने भन्दै यो निवारक निकासी गरिएको हो ।

पोर्चुगल, विशेष गरी तटीय र मध्य क्षेत्रहरू, मौसमको यो दोहोरो चपेटाबाट बाहिर निस्कने संघर्ष गरिरहेको छ । प्रशासनले नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सतर्क रहन अनुरोध गरेको छ ।

Leave a Reply