Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए यूरोप संयोजकमा रोबोट लिम्बुको उम्मेदवारी घोषणा

लिस्बन (पोर्चुगल) — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ एकता महाधिवेशनका लागि चुनावी सरगर्मी बढेसँगै नेतृत्वका लागि आकांक्षीहरूले आफ्नो अवधारणा सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा लामो समयदेखि पोर्चुगलमा बसेर प्रवासको सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका रोबोट लिम्बुले एनआरएनएको यूरोप संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संस्थाभित्र पछिल्लो समय देखिएको गम्भीर संकट र विभाजनको पृष्ठभूमिमा लिम्बुले संगठन पुनर्निर्माणको चुनौती सामना गर्न आफू तयार रहेको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै लिम्बुले संस्थाको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले अहिलेको जटिल परिस्थितिमा नेतृत्व लिनु सहज निर्णय नभए तापनि संस्था कमजोर भएको बेला जिम्मेवार व्यक्तिहरू पछि हट्न नहुने धारणा राखेका छन् ।

एनआरएनएभित्र ऊर्जा र सम्भावना प्रशस्त हुँदाहुँदै पनि नेतृत्वको अदूरदर्शिताका कारण आम सदस्यहरूमा निराशा र अविश्वास छाएको उनको ठम्याइ छ । यो अन्योल र विश्वासको क्षयलाई गम्भीर रूपमा समीक्षा गर्दै संस्थालाई नयाँ जीवन दिनु नै आफ्नो मुख्य उद्देश्य रहेको उनले प्रस्ट पारेका छन् ।

लिम्बुले आफ्नो चुनावी एजेन्डामा संस्थागत सुधारलाई प्राथमिकतामा राखेका छन् । उनले एनआरएनएलाई व्यक्तिकेन्द्रित नभई विधि, विधान र प्रणालीकेन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् । संस्थामा व्यक्तिगत प्रचारभन्दा पनि सामूहिक उद्देश्य र संस्थागत पुनर्जीवन आवश्यक रहेको उनको तर्क छ ।

“हामीलाई पद होइन, उद्देश्य चाहिएको छ,” भन्दै उनले एनआरएनए केवल एउटा संरचना मात्र नभई विश्वभरका नेपालीको साझा पहिचान भएको र यसको विश्वसनीयता जोगाउनु सबैको सामूहिक दायित्व भएको उल्लेख गरेका छन् ।

विशेषगरी यूरोप क्षेत्रको विविधतालाई सम्बोधन गर्न लिम्बुले स्पष्ट खाका अघि सारेका छन् । यूरोपका विभिन्न देशमा रहेका नेपालीहरूको कानुनी अवस्था, बसाइँसराइको इतिहास, भाषा र संस्कृति फरक–फरक रहेकाले ती सबैका बीच समन्वय गर्न धैर्य र निष्पक्ष नेतृत्वको खाँचो रहेको उनले औंल्याएका छन् । हरेक देशका राष्ट्रिय समन्वय परिषद् (NCC) का चुनौतीहरू फरक हुने भएकाले सबै विचार, आस्था र समूहलाई समान रूपमा समेटेर लैजाने उनले प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो प्रतिबद्धता कुनै खास समूह वा धारप्रति नभई संस्थाको विधि र प्रक्रियाप्रति हुने दृढता व्यक्त गरेका छन् ।

आफ्नो घोषणाको अन्त्यमा लिम्बुले एनआरएनएलाई आरोप-प्रत्यारोपको थलोबाट मुक्त गराई समाधान र सहकार्यको दिशामा लैजानुपर्ने आह्वान गरेका छन् । सदस्यहरूले गर्वका साथ “यो हाम्रो संस्था हो” भन्न सक्ने वातावरण निर्माण गर्नका लागि सबैको सकारात्मक सहकार्य र सुझाव आवश्यक पर्ने उनले बताएका छन् । संस्थामा पारदर्शीता, नयाँ ऊर्जा र बलियो एकताको अपरिहार्यता रहेको उल्लेख गर्दै उनले यस यात्रामा सबै पक्षको समर्थन र मार्गदर्शनको अपेक्षा गरेका छन् ।

Leave a Reply