अमेरिका— गैरआवासीय नेपाली संघ जस्तै नेपालको पर्यटन मन्त्रालयमा दर्ता भएको अर्को एउटा संस्था युनाईटेड नेपाली डायस्फोरा अर्गनाईजेसन (UNDO) अन्डुको शनिबार काठमाडौँमा पहिलो अधिवेशन सम्पन्न भएको छ।
अमेरिकामा बस्दै आएका सफल व्यवसायिक सोनम लामा अन्डुको पहिलो महाधिवेशनबाट अध्यक्ष र अस्ट्रेलियाबाट महासचिव कुशल केसी आगामी तीन बर्षको लागि निर्विरोध निर्वाचित भएका हुन्।
विदेशमा रहेका नेपालीहरूलाई स्वदेश सम्म जोड्ने हेतु र विदेशमा बस्ने नेपालीहरुलाई एकजुट गर्न एनआरएनए जस्तै अन्डुको गठन भएको महासचिव कुशल केसीले बताए।
नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको दोस्रो संस्थामा अमेरिका,अस्ट्रेलिया,मलेसिया लगायत थुप्रै देशहरूका प्रतिनिधित्वहरू आबद्ध छन्। बिस्तारै अरु युरोपेली देशहरुमा पनि जोड्दै जाने अध्यक्ष सोनम लामाले जोड दिए।
२९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित गरिनेछन्।साथमा खाली रहेका पदमा पनि नयाँ नेतृत्वले मनोनित गर्ने भएका छन्।
अन्डुले नेपालको दिगो सामाजिक–आर्थिक विकासको परिणामको लागि अग्रणी पहलहरू गर्न प्रतिबद्ध रहेको छ।
बिधान अनुसार संस्थाको अन्तराष्ट्रिय महाधिवेशन हरेक ३/३ बर्षमा नेपालमा भौतिक रुपमा उपस्थित भएर हुने भएको छ ।डिसेम्बर २८ र २९ मा आयोजना भएको यो पहिलो महाधिवेशनले आगामी तीनबर्ष अर्थात २४,२७ सम्मको लागि नयाँ नेतृत्व चयन गरेको हो।