Home Login
रोमानिया

रोमानियामा मनाइयो माघे संक्रान्ति

लाक्पा तेन्जी शेर्पा।

रोमानिया — नेपाल मगर संघ रोमानियाले पहिलो पटक आयोजना गरेको भव्य माघे संक्रान्ति कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मगर समाज रोमानियाका अध्यक्ष गोमा देबी थापा मगर को सभापतित्वमा सञ्चालन भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा थिए भने विशेष अतिथिहरूमा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष फुर्साङ लामा, तमु समाज रोमानियाका अध्यक्ष तिल बहादुर गुरुङ, नेपाल किराँत समावेशी समाज रोमानियाका अध्यक्ष गौरीमान लिम्बू, किराना पसलका व्यवसायी आलोक शाह, एभरेस्ट रेस्टुरेन्टका सञ्चालक सुरेन्द्र गौतम, तथा रोमानियाका विभिन्न व्यवसायी महानुभावहरू सहभागी थिए।

कार्यक्रममा सयौं नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो, जसमा रोमानियामा विभिन्न क्षेत्रहरूमा कार्यरत नेपालीहरू तथा स्थानीय रोमानियन नागरिकहरूको समेत उल्लेखनीय सहभागिता थियो।

सांस्कृतिक प्रस्तुति र आकर्षण —

कार्यक्रमको सुरुआत नेपाली राष्ट्रिय गान, मगर समुदायको राष्ट्रिय गीत, र रोमानियन राष्ट्रिय गानबाट गरिएको थियो। तामाङ घेदुङ रोमानियाले प्रस्तुत गरेको सेलो नृत्य, तमु समाज रोमानियाको झाँकी ग्याब्री नाच, तथा किराँत समावेशी समाज रोमानियाको सिली र सकेला नृत्यजस्ता सांस्कृतिक प्रस्तुतीहरूले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए।

मगर संघको तर्फबाट प्रस्तुत गरिएका अन्य विविध सांस्कृतिक कार्यक्रमले कार्यक्रमको रौनकलाई अझ रोचक र मनोरञ्जनात्मक बनाएको थियो।

मगर समुदायको विशेष परिकार —

कार्यक्रममा मगर समुदायका विशेष परिकारहरू पनि प्रस्तुत गरिएको थियो। सहभागीहरूले मगर परिकारको स्वाद लिएर कार्यक्रमलाई अझ विशेष बनाएका थिए।

ऐतिहासिक महत्व —

विदेशी भूमिमा मगर संघद्वारा आयोजना गरिएको यो कार्यक्रमले रोमानियामा रहेका नेपालीहरूको एकता र सांस्कृतिक पहिचानलाई अभिव्यक्त गरेको छ। यो कार्यक्रम रोमानियाको नेपाली समुदायको लागि ऐतिहासिक बनाइएको छ।

माघे संक्रान्तिको अवसरमा सम्पन्न यस कार्यक्रमले रोमानियामा रहेका नेपाली समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत पुर्‍याएको छ।

Leave a Reply