पोर्चुगल — पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल आफ्नो कार्यभार सम्हाल्नको लागि बिहिबार लिस्बन आइपुग्नुभएको छ।
राजदूत पौडेल बिहिबार अपरान्ह पोर्चुगल आइपुग्दा नेपाली दूतावास लिस्बनका नियोग उपप्रमुख रामबाबु नेपाल पोर्चुगलको परराष्ट्र मन्त्रालयको प्रोटोकल विभागका लुइस सान्तोसले लिस्बन एयरपोर्टमा स्वागत गरेका थिए ।
पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा कन्सुलर सेवा सुरू गर्ने अपेक्षा गरिएको छ ।
लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा काम सुरु गर्नका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइ सकेको र स्वीकृति प्राप्त हुने बित्तिकै दूतावासले औपचारिक रुपमा काम सुरु गर्नेछ।

त्यस्तै नेपाली राजदूतावास लिस्बन र नेपाली राजदूतावास पेरिसले संयुक्त रूपमा आयोजना गरेको घुम्ति कन्सुलर सेवा शिविर बिहिबार देखि समाप्त भएको नेपाली राजदूतावास लिस्बनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक सूचना जारी गर्दै बताएको छ।
सूचना अनुसार, शुक्रबार मार्च ७ देखि कागजात प्रमाणिकरण लगायतका अन्य कन्सुलर सेवाहरू उक्त शिविरबाट नहुने भएको हो। यसै बीच राजश्व भुक्तान गरिसकेका लगायत अन्य सेवाग्राहीहरूले नेपाली राजदूतावास लिस्बनले औपचारिक रूपमा काम सुरुवात नगरेसम्म आवश्यक सेवाहरू नेपाली राजदूतावास पेरिसबाट लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
पोर्चुगलमा राजदूतवास स्थापना भएर पोर्चुगलबाटै सेवा लिन पाइने कुराले आम पोर्चुगलबासी नेपालीहरु उत्साहित बनेका छन् । हालसम्म पोर्चुगलका नेपालीहरूले पेरिसस्थित नेपाली दूतावासबाट सेवा लिदै आएका छन् ।
Leave a Reply