पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले ११५ औ अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।
उक्त कार्यक्रम यहीँ मार्च १० तारिख सोमबार हुने भएको हो । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्।
त्यस्तै उक्त कार्यक्रममा पोर्चुगलमा रहेका स्थानीय कलाकारहरू गायक अर्जुन सुनम, गायिका गीत रेउली, कला पंगिनी र नृत्य (डान्सर) देवी गर्बुजा मगरको प्रस्तुति समेत रहने भएको समाजले एक कार्यक्रमको पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको हो।
पछिल्लो समय पोर्चुगलमा निकै सक्रिय रहेको समाज नेप्लिज वोमन एशोसिएसन पोर्चुगलको आयोजनामा गत फेब्रुअरीमा एक दिने भ्रमण कार्यक्रम समेत सम्पन्न गरेको थियो।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो ।