लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्व अध्यक्ष डा. शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताउनुभएको छ ।
मंगलबार पोर्चुगलको राजधानी लिस्बनमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा संयोजक घलेले तीन महिना अगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा संघको महाधिवेशन हुने बताउनुभएको हो । “तोकिएको मितिमा महाधिवेशन हुन्छ, कुनैपनि हालतमा मिति परिवर्तन हुँदैन” — घलले घलेले भने,
उहाँले नयाँ संरचना सहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न सबै अभियन्ताहरुलाई आह्वान गर्नुभयो । आगामी मे महिनामा काठमाडौंमा हुने महाधिवेशनमा सहभागी भइ एकताको महाधिवेशनलाई सफल पार्न घलले आग्रह समेत गर्नुभयो। पूर्व अध्यक्ष एवं उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले सहमतिको पालना नगर्दा संस्थाको यो हविगत भएको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको परमादेश पालना गर्नुको विकल्प नरहेको बताउनुभयो ।
संघका पूर्व अध्यक्ष एवं उच्चस्तरीय समितिका अर्का सदस्य विनोद कुँवरले सर्वोच्चको फैसलालाई टेकेर तयार गरिएको कार्यविधि अनुरूप एकताको महाधिवेशन तयारी भइरहेको बताउनुभयो ।संघका अध्यक्ष राजेन्द्रकुमार शर्माले सङ्घलाई एकताबद्ध बनाउने जिम्मेवारी सबै अभियन्ताहरुको काँधमा आएको उल्लेख गर्दै उक्त जिम्मेवारी मिलेर पूरा गर्नुपर्नेमा जोड समेत दिनुभयो ।
सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ मा काठमाडौँमा संघको एकता महाधिवेशनको मिति तय गरिसकेको छ ।
Leave a Reply