प्रवास

विदेशी भूमिमा देश सम्झिरहेका नेपालीहरुको नयाँ वर्ष

प्रकाश बगाले (प्रधान सम्पादक माल्टा नेपाल अनलाइन)

माल्टाको आकाशमुनि फेरि एकपटक नेपाललाई चिनाउनु छ । अर्को सालको नयाँ वर्ष खै कता मनाइन्छ … तर यसपाली मे १४ तारीख माल्टाबाट फेरि नेपाललाई चिनाउछौं । ‘हजारौं नेपालीहरु सपना, भाव, र संकल्प लिएर संघर्षमा हुदै गर्दा देश छोडिए पनि देश बिर्सिएको छैन । भूमि टाढा भएपनि माटोको माया अझ गहिरो छ नेपालीको मनमा । विदेशी भूमिमा देश सम्झिरहेका नेपालीहरुले नयाँ वर्ष २०८२ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेर नयाँ वर्ष मनाउने तयारी गरी रहेकाछन् यतिबेला । कोही देश चिनाउन पन्चे बाजा बजाएर विदेशमा पनि देशको पहिचान झल्काउने कसरतमा लागि परेका छन् । युरोपको माल्टामा रहेका लगभग ८ देखि १० हजार नेपालीहरू पनि नेपाली डे अर्थातनयाँ वर्ष मनाउन एक भएर लागेका छन् ।

नेपालीपन झल्काउँदै, नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ माल्टाको राजधानी भ्यालेटामा नेपाली नयाँ वर्ष भब्य रुपमा मनाउन माल्टाबासी नेपालीहरु अग्रसर भएका छन् । अप्रिल १४ तारीख अर्थात नेपाली नयाँ वर्ष बैशाख १ गतेका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाली डे नयाँ वर्षको अवसरमा हुन लागेको साँस्कृतिक कार्यक्रमले माल्टा र नेपाल दुई देश बीचको सम्बन्ध थप मजबुत बनाउने देखिन्छ । दुई देश बीचको सम्बन्ध विस्तारका साथै नेपालको पर्यटनको प्रवद्र्धनमा टेवा पुर्याउन समेत यस कार्यक्रमले भूमिका खेल्ने छ ।

कार्यक्रममा माल्टाका पर्यटन मन्त्रालयका सचिव, माल्टाका सांसदहरू, सगरमाथा आरोहण गरिसकेका माल्टिज नागरिक, माल्टिज माउन्टेनीयरिङ्ग एशोसिएसनका अध्यक्ष, अवैतनिक वाणिज्य दूत, नेपाल भ्रमण गरिसकेका माल्टिज नागरिकहरू, स्थानीय काउन्सिलकस मेयर, मिस माल्टाका प्रतिनिधि, इमिग्रेशन सम्बन्धी कानुनी विज्ञहरू लगायत नेपालसँग सम्बन्धित विभिन्न क्षेत्रमा चासो राख्ने माल्टिज नागरिकहरूले नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने भएकोले पर्यटन प्रबद्र्धनका साथै आप्रवासी नेपालीहरुले भोगेको समस्याको समाधान खोज्नमा सहज हुने अपेक्षा प्रवासी नेपालीले गरेका छन् ।

यसरी हेर्दा यो सम्झना र भावनामा गाउँघरतिर फर्कने क्षण हो, र मुटुमा देशको माया, आँखामा भविष्यको सपना बोकेर हर्ष खोज्दै अघि बढ्ने प्रतिबद्धताको समय पनि बन्ने छ यो नयाँ वर्ष । पछिल्ला वर्षहरूमा माल्टामा नेपालीहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ ।

विभिन्न पेसा तथा व्यवसाय संचालन गरेका नेपालीहरू यहाँको श्रम बजारका महत्वपूर्ण हिस्सा बनिसकेका छन् । नेपालीहरुको अनुशासन, मेहनत, र सादगीले माल्टाको समाजमा नेपालीको छवि उज्यालो बनेको छ । तर विदेश भूमिमा यो सफलताको कथा सजिलो छैन । बिहान सबेरै उठेर काममा निस्कँदा, चाडबाडमा पनि काम छोड्न नपाउँदा, र घरको फोन काटिसके पछि मनभरि बज्ने शून्यताले परदेशी नेपालीको जीवन कस्तो हुन्छ रु भन्ने महसुस गराउँछ । यस्तै बेलामा, नयाँ वर्षजस्तो दिनले उनीहरूलाई केही समयका लागि भए पनि एउटै ठाउँमा जोड्ने गर्छ — गाउँको झझल्को दिलाउने गीत, साझा भान्सामा पकाइने नेपाली परिकार, र एउटै मनको धड्कनले नेपालीहरु एक घरका परिवारका सदस्य भएर मिलेर बसेका छन् ।

तर, केवल भावनाले मात्र होइन, यो समय गम्भीर प्रश्न उठाउने घडी पनि हो । माल्टामा रहेका नेपालीहरू कति सुरक्षित छन रु उनीहरूको श्रम अधिकार सुनिश्चित छ कि छैन रु दूतावास वा सरकारी निकायहरूको उपस्थिति र सक्रियता पर्याप्त छन रु प्रवासी नेपालीका मनमा आउने यस्ता प्रश्नले राज्यको जवाफ खोजी रहेको छ । विदेशिएका नेपालीहरूलाई सुरक्षित, सम्मानित र संरक्षित बनाउने आफ्नो दायित्व राज्यले पूरा गरोस् । विदेशी भूमिमा राज्य खोजी रहेका आप्रवासी नेपालीहरुलाई राज्य साथमा छ भन्ने विश्वास दिलाउने गरी काम गर्न अति आवश्यक छ ।

हामी यहाँ छौं । समुन्द्र पारिको अर्को टुक्रामा तर हरेक सासमा, हरेक स्पन्दनमा नेपाल अझै जीवित छ । मे १४ को तयारी केवल एउटा कार्यक्रमको तयारी मात्र होइन ।

यो हो नेपालीपनको उज्यालो संसारभरि छर्न खोजिएको संकल्प । माल्टाको आकाशमुनि फेरि एकपटक नेपालको झण्डा फरफराइने छ । सगरमाथाको शिरझैं गर्वका साथ, बुद्धको शान्त सन्देशझैं न्यानो भावनाका साथ नेपालीको आफ्नै साँस्कृतिक प्रस्तुति, परम्परागत भेषभूषा, र नेपाली भाषा – बोलिचालिका माध्यम बाट हामी फेरि संसारसामु भन्ने छौं हामी नेपाली हौं यो केवल प्रवासीहरूको प्रयास होइन, यो एक पुस्ताबाट अर्को पुस्तासम्म पुगोस् भन्ने चाहना हो । यो हो देशप्रेमको ज्वालो, जुन परदेशमा पनि बलिरहेको छ । हाम्रो साझा सपना नेपाललाई बिश्वसामु चिनाउने, जहाँ गए पनि, जुन ठाउँ पुगे पनि हामी नेपाली हौं र नेपाली रहिरहने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *